निशासँग क्रिकेटर शरदको दोस्रो इनिङ शुरु

काठमाडौं (खेलदैनिक) । नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित ब्याट्सम्यान शरद भेषवाकरले नायिका निशा अधिकारीसँग जिवनको दोस्रो इनिङ शुरु गरेका छन् ।

क्रिकेटर शरद र निशाले काठमाडौंको एक पाँच तारे होटलमा आफ्नो लामो प्रेमसम्बन्धलाई शुक्रबार विवाहमा परिणत गरेका छन् ।

वैवाहिक कार्यक्रममा नायिका निशा रातो बेहुलीको भेषमा सजिएकी थिईन् भने शरद पनि ढाकाको दौरा सुरूवालमा सजिएका थिए ।

विवाह कार्यक्रममा निशा र शरदका सिमित आफन्तहरुको मात्र उपस्थित थियो । त्यस्तै चलचित्रकर्मीहरुको उपस्थिति पनि न्यून थियो ।

गतवर्ष नायिका निशा आफू अभिनित फिल्म ’जय परशुराम’ रिलिजताका अमेरिका पुग्दा शरदसँग ब्रेकअप भएको हल्ला चलेको थियो । यद्यपि यी सबै निराधार साबित भएको थियो ।

शरद र निशालाई धेरै पटक हात समात्दै सिनेमा हेर्न हल पुगेको देखि होटलमा सँगै डिनर गरेका तश्वीरहरु यसअघि नै मिडियाले प्रकाशित गर्दै आएका थिए ।

ब्रेकअपको हल्लापछि भने यी दुई एकसाथ मिडियाको क्यामेरामा कैद भएका थिएनन् । केही दिन अगाडि मात्र यो जोडी स्वामी आनन्द अरुणको जन्मदिनको अवसरमा ओशो तपोवन पनि पुगेका थिए ।

बेला मौकामा बाहिर जे जस्तो हल्ला आए तापनि यी दुवैले ती सबै हल्लालाई गलत सावित गर्दै आफ्नो प्रेम सम्बन्धलाई पूर्णता दिएका छन् ।

जिवनको दोस्रो इनिङको शुरुवात गरेका क्रिकेटर शरद र नायिका निशालाई खेलदैनिकको तर्फबाट सफल दाम्पत्य जिवनको शुभकामना ।


प्रतिक्रिया दिनुहोस

Loading...