ओलम्पिक डे चेसको उपाधि सुरवीरलाई

काठमाडौं (खेलदैनिक) । पूर्व राष्ट्रिय च्याम्पियन सुरवीर लामाले ओलम्पिक डे ब्लिच चेस टुर्नामेन्टको उपाधि जितेका छन् ।

ओलम्पिक डे २०१७ को अवसरमा ललितपुरमा सम्पन्न एकदिने प्रतियोगितामा ७ चरणबाट ६ अंक हात पारेका सुरवीरले उपाधिसहित नगद ५ हजार समेत हात पारे ।

वर्तमान राष्ट्रिय च्याम्पियन समेत रहेका क्यान्डिडेट मास्टर मदनकृष्ण कायस्थ टाईब्रेकरमा भेट्रान खेलाडी राजेन्द्रप्रसाद श्रेष्ठलाई पछि पार्दै दोश्रो स्थानमा रहे भने समान ५ दशमलब ५ अंक बनाएका राजेन्द्रले तेश्रो स्थानमा चित्त बुझाए ।

भक्तपुरका युवा प्रतिभा विक्रम चोकामी, क्यान्डिडेट मास्टर सजिन महर्जन तथा क्षितीज भण्डारी समान ५–५ अंक बनाउँदै क्रमशः चौथो, पाँचौ र छैठौं स्थानमा रहे ।

त्यसैगरी पूर्व राष्ट्रिय च्याम्पियन बद्रीलाल नेपाली, मोरङका पूर्णराज खड्का, पूर्व राष्ट्रिय च्याम्पियन पुण्यमान कर्माचार्य तथा फिडेमास्टर मनीष हमाल समान ४ दशमलब ५ अंकका साथ क्रमशः सातौं, आठौं, नवौं तथा दशौं स्थानमा रहन सफल भए ।

ललितपुर स्पोर्टस क्लब र नेपाल ओलम्पिक कमिटिको आयोजनामा सम्पन्न प्रतियोगितामा ३५ जना खेलाडीको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...