झापाली खेलाडी राजन र प्रकाशको वर्चस्व

– कृष्ण सिंजाली

काकरभिट्टा (खेलदैनिक) । झापाका राजन सुवेदी र प्रकाश नेपाल सर्वाधिक ६ अकं सहित काँकरभिट्टामा जारी पीवी थापा स्मृति केसीसी राष्ट्रिय खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता–२०७५ शीर्षस्थानमा रहेका छन् ।

प्रतियोगितातर्फ मंगलबार छैठौ र सातौ चरण खेल समाप्त भएको छ । छैठौ चरणमा १८४१ ईएलओका राजन र झापाका पूर्व नेपाल च्याम्पियन भुपेन्द्र निरौलाबीच भएको निक्कै रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा बराबरी अंक बाडेका उनले सातौ चरणको खेलमा पूर्व नेपाल च्याम्पियन तथा फिडे मास्टर विलमलाल श्रेष्ठलाई सजिलै पराजित गरे ।

युवा खेलाडी राजनले फिडेमास्टर विलमलाल श्रेष्ठसँगको खेलमा सेतो गोटी लिएर आक्रमक रुपमा आफ्नो खेल प्रदर्शन गरेका थिए । कालो गोटी लिएर सिसिलियन प्रणालीमा खेल शुरु गरेका विलमलाई खेलको मध्यभागमा रक्षात्मक खेल खेल्न बाँध्य भए । जसको फाइदा राजनले सजिलै उठाए ।

२७ औँ चालमा उट वलिदान गरी प्यादा एउटा खाए । त्यसको लगत्तै विलमलाल दवावमा परे । २८ औँ चालमा राजनले पुनः प्यादा लिए । रक्षात्मक भएका विलम माथि लगातार दवाव दिए र राजनले ३५ औँ चालमा खेल आफ्नो पक्षमा पारेका थिए ।

दुई झापाली खेलाडी पूर्व नेपाल च्यम्पियन भुपेन्द्र निरौला र प्रकाश बीचको खेल रोमाञ्चकरुपमा सम्पन्न भयो । निक्कै कठिन खेलमा भुपेन्द्रलाई ४३ औँ चालमा प्रकाशले खेल त्याग्न बाँध्य बनाए । कालो गोटी लिएर बेनौती खेल प्रणालीमा खेल्न शुरु गरेका भुपन्द्रले प्रकाशलाई दवावमा राखेका थिए । भुपेन्द्रको हरेक चाललाई विफल बनाउदै प्रकाशले बाजी मार्न सफल भए ।

त्यसैगरी फिडे मास्टर मनिष हमाल, पूर्व नेपाल च्याम्पियन सुरवीर लामा, मकवानपुरका कृष्ण थापा, झापाका सुमन श्रेष्ठ, काठमाण्डौका राजन पुरी र बद्रीलाल नेपाली ५ दशमलव ५ अंकसहित दोस्रो स्थानमा कब्जा जमाउन सफल भए ।

मनिषले राम्रो खेल खेल्दै छैठौ चरणको खेलमा काठमाण्डौका सुदिप तामाङ र सातौ चरणको खेलमा सुशुरत दाहालमाथि जीत हात पारे । उता सुरविरले राजन पुरी र कृष्ण थापासँग बराबरी खेल्दै अंक बाडे ।

त्यसैगरी, कृष्णले छैठौ चरणको खेलमा राजन पुरीसँग बराबरी खेल्दै अंक बाँडे । नवीन तण्डुकारले सुखद प्रदर्शन गरेका थिए । उनले दुवै खेलमा जीत हात पार्ने क्रममा सातौ चरणको खेलमा झापाका ज्वाला इम्बुङ र छैठौ चरणको खेलमा झापाकै विजय मगरलाई पराजित गरेको चिफ आरविटर विजयकुमार थापाले बताए ।

त्यस्तै सुमन श्रेष्ठले छैठौ चरणको खेलमा काठमाण्डौका युवराज पौडेल र सातौ चरणको खेलमा रुपन्देहीका चामन गाहा मगर पन्छाउन सफल भएका थिए ।

ललितपुरका हिराकाजी मर्हजन, झापाका विश्वविजय घिमिरे, इन्द्रप्रसाद सिग्देल,काठमाण्डौका सुदिप तामाङ, मलिन लामा सुनसरीका मणिराज डाँगी र कैलालीका दीर्घराज जोशी ५ अंकसहित तेस्रो स्थानमा रहे । बुधबार प्रतियोगिताको आठौ चरण र फाइनल खेल हुने खेल संयोजक ओमप्रकाश दाहालले बताए ।


प्रतिक्रिया दिनुहोस

Loading...