सुरज र किसन पहिलो

धनगढी (खेलदैनिक) । दाङका सुरज ओली र रोल्पाका किसन घर्तीमगर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताअन्तर्गत लुम्बिनी प्रदेशस्तरीय छनोटमा पहिलो भएका छन् ।

कैलालीको धनगढीमा भएको छनोट प्रतियोगिताअन्तर्गत पुरुष ५२ केजीमा सुरजले बाँकेका धर्मवीर चिडीमार र ५७ केजीमा किसनले बाँकेका विनोद चौधरीलाई पराजित गर्दै पहिलो स्थान हात पारे ।

पुरुषकै ६३ केजी तौल समूहमा दाङका अनिल पुनमगरले स्वर्ण जिते । फाइनलमा उनले पूर्वी रुकुमका गौतम पुनमगरलाई पराजित गरे । पुरुषकै ६९ केजीमा दाङका विकास रानामगरले पाल्पाका असिम धिरेन श्रेष्ठलाई पराजित गर्दैै काठमाडौंमा हुने राष्ट्रिय प्रतियोगिताका लागि सिट सुरक्षित गरे । र फाइनलमा स्थान बनाए । पुरुषको ७५ केजीमा दाङका गणेश सुनार र ९१ केजीमा दाङकै केशर खत्रीले राष्ट्रिय प्रतियोगिताका लागि छनोट भए ।

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा भएको छनोट प्रतियोगिताअन्तर्गत महिला ५१ केजी तौल समूहमा बाँकेकी माया खत्रीले पहिलो स्थान हात पारिन् । फाइनलमा उनले दाङकी आरती विकलाई पराजित गरिन् । ५७ केजी तौल समूहमा दाङकी जानकी थापामगरले रोल्पाकी सुशीला थापामगरलाई हराउँदै स्वर्ण पदक पक्का गरिन् । लुम्बिनी प्रदेशबाट ६० केजीमा सुरक्षा कुमाल र ६९ केजीमा बाँकेकी जुनुमाया थारुले पनि राष्ट्रिय प्रतियोगिताका लागि सिट सुरक्षित गरेका छन् ।

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा २०७९ बैशाख ६ देखि १० गतेसम्म काठमाडौंको बसन्तपुर डबलीमा हुने प्रतियोगितामा पुरुषतर्फ सात र महिलामा पाँच तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा पुरुषतर्फ ४८, ५२, ५७, ६३, ६९, ७५ र ८१ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यसैगरी महिलातर्फ ४८, ५४, ५७, ६४, ६९ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीका खेलाडीहरूबीच प्रतिस्पर्धा हुनेछ । राष्ट्रिय प्रतियोगितामा हरेक तौल समूहमा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने खेलाडीले आकर्षक नगद पुरस्कार प्राप्त गर्ने छन् भने उत्कृष्ट महिला र पुरुष खेलाडीले स्कुटर र मोटरसाइकल पाउने छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...