सन्दीप र चिरञ्जीवी फाइनलमा

काठमाडौं (खेलदैनिक) । कञ्चनपुरका सन्दीप नाथ र बाजुराका चिरञ्जीवि खड्का गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय छनोटको फाइनलमा पुगेका छन् ।

सोमबार कैलालीको धनगढीमा भएको पुरुष ५२ केजी तौल समूहको प्रतिस्पर्धामा सन्दीपले अछामका ईश्वर बुढालाई पराजित गरे । यसैगरी चिरञ्जीविले कैलालीका सुनील रानालाई हराउँदै सन्दीपसँगको भिडन्त पक्का गरे ।

पुरुषकै ५७ केजीमा अछामका रञ्जन भट्ट र कञ्चनपुरका रामबहादुर थापाले उपाधि भिडन्त पक्का गरे । रञ्जनले बाजुराका निर्मल सुवेदी र रामबहादुरले कैलालीका पाण्डव बडुलाई पराजित गर्दै फाइनलमा स्थान बनाए ।

पुरुषकै ६३ केजी तौल समूहमा बाजुराका नेत्रकुमार तिरुवाले अछामका जगदिश विक र कञ्चनपुरका महेन्द्रकुमार चन्दले कैलालीका कैलाश बोगटीलाई पराजित गर्दै फाइनलमा स्थान बनाए । पुरुषको ६९ केजीमा कैलालीका भरत चन्दले तपेन्द्र विकलाई पराजित गर्दै फाइनलमा स्थान बनाए ।

यस्तै ७५ केजीमा तौल समूहमा अछामका भूपेन्द्र बिसी र कैलालीका बालाजी रावल फाइनलमा पुगे । भूपेन्द्रले कञ्चनपुरका मिलन लोहार र बालाजीले बाजुराका प्रकाश विकलाई पाखा लगाए ।

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा भएको प्रतियोगिताको महिला ५१ केजी तौल समूहमा कञ्चनपुरकी सोनिया सेट्टी र कैलालीकी ज्योति चौधरीले उपाधि भिडन्त पकका गरे । सोनियाले अछामकी रमिला सिंह र ज्योतिले बाजुराकी सुमित्रा रावललाई पराजित गरिन् ।

महिलाकै ५७ केजी तौल समूहमा कञ्चनपुरकी प्रतिमा शाहीले बाजुराकी प्रमिला विष्ट र कैलालीकी सञ्जिता चौधरीले अछामकी हरिना कार्कीलाई पराजित गर्दै फाइनलमा स्थान बनाए ।

यसैगरी धनगढीमै भएको लुम्बिनी प्रदेशको छनोटअन्तर्गत पुरुष ५२ केजीमा दाङका सुरज ओलीले सेमिफाइनलमा स्थान बनाए । उनले प्यूठानका लक्ष्मण बुढामगरलाई पराजित गरे ।

पुरुषकै ५७ केजीमा दाङका भरत पुनमगर र रोल्पाका निशम घर्तीमगरले सेमिफाइनलमा स्थान बनाए । भरतले पूर्वी रुकुमका तिलवीर पुनमगर र निशमले प्यूठानका कुशल विकलाई पराजित गरे । पुरुष ६९ केजीमा दाङका विकास रानामगरले रुपन्देहीका सागर शाहीलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाए ।

तीन दिने प्रतियोगिताको धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले उद्घाटन गरेको सुदूरपश्चिम प्रदेशका प्रतियोगिता संयोजक दिनेश सिंहले जानकारी दिए ।

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा २०७९ बैशाख ६ देखि १० गतेसम्म काठमाडौंको बसन्तपुर डबलीमा हुने प्रतियोगितामा पुरुषतर्फ सात र महिलामा पाँच तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा पुरुषतर्फ ४८, ५२, ५७, ६३, ६९, ७५ र ८१ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यसैगरी महिलातर्फ ४८, ५४, ५७, ६४, ६९ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीका खेलाडीहरूबीच प्रतिस्पर्धा हुनेछ ।

राष्ट्रिय प्रतियोगितामा हरेक तौल समूहमा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने खेलाडीले आकर्षक नगद पुरस्कार प्राप्त गर्ने छन् भने उत्कृष्ट महिला र पुरुष खेलाडीले स्कुटर र मोटरसाइकल पाउने छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...