नवलपुरका आकाश पहिलो

पोखरा (खेलदैनिक) । नवलपुरका आकाश राना गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताअन्तर्गत गण्डकी प्रदेशस्तरीय छनोटमा पहिलो भएका छन् ।

पोखरामा बुधबार भएको पुरुष ५२ केजी तौल समूहको फाइनलमा कास्कीका सरोज गुरुङलाई पराजित गर्दै आकाशले पहिलो स्थान हात पारेका हुन् । यस तौल समूहमा पर्वतका ओमन गुरुङ र तनहुँका अनिश गुरुङले तेस्रो स्थान हात पारे ।

यसैगरी पुरुषकै कास्कीका सौगात कुमालले स्वर्ण जिते । उनले स्याङ्जाका विपिन भण्डारीलाई फाइनलमा हराए । स्याङ्जाका शंकर खनाल र नवलपुरका अनिष तामाङ तेस्रो भए ।

पुरुष ६३ केजीमा पर्वतका निश्चल गुरुङ पहिलो, कास्कीका सागर परियार दोस्रो र नवलपुरका सुनील पुन एवं बाग्लुङका निर्तिक गाहमगर तेस्रो भए । ६९ केजीमा पर्वतका सुनील विकले स्वर्ण जिते । उनले फाइनलमा कास्कीका कुशल कुमाललाई पराजित गरे । नवलपुरका रामबहादुर गर्बुजा र स्याङ्जाका विवेक नेपाली तेस्रो भए ।

७५ केजीमा कास्कीका निशान गुरुङले मन गुरुङलाई पराजित गर्दै स्वर्ण जिते । ८१ केजीमा पर्वतका मनिष बिसी र ९१ केजीमुनिको तौल समूहमा पर्वतका किरण विक पहिलो भए । उनले कास्कीका आयुष थापालाई पाखा लगाए । यसैगरी महिलाको ५१ केजी तौल समूहमा पर्वतकी अस्मिता थापा, ५७ केजीमा पर्वतकै सीमा गुरुङ र ६० केजी तौल समूहमा पर्वतकै जेसिका श्रेष्ठले पहिलो स्थान हात पारे ।

खेल सामग्री सहयोग

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा आगामी वैशाखमा हुन लागेको राष्ट्रिय बक्सिङ प्रतियोगिताका लागि ‘ग्रिन हिल’ ले खेलकुद सामग्री सहयोग गरेको छ । पाकिस्तानमा रहेको ‘ग्रिन हिल’ ले प्रतियोगिताका लागि चार लाखभन्दा बढीको सामग्री सहयोग गरेको गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताका संयोजक राजीव श्रेष्ठले जानकारी दिए ।

पाकिस्तानी कम्पनी ‘ग्रिन हिल’ ले गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितालाई अन्तर्राष्ट्रिय बक्सिङ महासंघको सर्टिफाइड खेलकुद सामग्री सहयोग गरेको हो । ‘ग्रिन हिल’ ले हेड गार्ड, ग्लोभ्सलगायतका सामग्री सहयोग गरेको हो ।

गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताअन्तर्गत अहिले प्रदेशस्तरीय छनोट प्रतियोगिता सञ्चालन भइरहेको छ । २०७९ बैशाख ६ देखि १० गतेसम्म काठमाडौंको बसन्तपुर डबलीमा हुने प्रतियोगितामा पुरुषतर्फ सात र महिलामा पाँच तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीका खेलाडीहरूबीच प्रतिस्पर्धा हुनेछ । राष्ट्रिय प्रतियोगितामा हरेक तौल समूहमा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने खेलाडीले आकर्षक नगद पुरस्कार प्राप्त गर्ने छन् भने उत्कृष्ट महिला र पुरुष खेलाडीले स्कुटर र मोटरसाइकल पाउने छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...