सर्बिया जाने खेलाडीहरुको विदाई

काठमाडौं (खेलदैनिक) । अन्तराष्ट्रिय बक्सिङ्ग संघको आयोजनामा यहि अक्टोबर २५ देखि नोभेम्बर ६ तारिख सम्म सर्बियाको राजधानी वेलग्रेडमा हुने २१औ आईबा मेन्स वल्र्ड बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन जाने ४ जना खेलाडी एवं प्रशिक्षकहरुलाई एक कार्यक्रमकाबीच युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले विदाई गरेका छन् ।

कार्यक्रममा मन्त्री गहतराजले सम्पूर्ण खेलाडी तथा अफिसीयल्सहरुलाई अग्रीम बधाई तथा शु्भकामना व्यक्त गर्दै वल्र्ड च्याम्पियनसिप जस्तो बक्सिङ्गको महाकुम्भ प्रतियोगितामा नेपाली खेलाडीहरुलाई उच्च मनोबलका साथ प्रतिस्पर्धा गर्न र पदश जित पनि हौसला दिएका थिए ।

विश्वका १०५ राष्ट्रको १३ वटा तोल समुहमा ६५० जना खेलाडीहरुको सहभागीता रहने बृहत बक्सिङ्ग प्रतियोगिताको प्रत्येक तौल समुहमा स्वर्ण पदकको लागी एक लाख डलर, रजत पदकको लागी पचास हजार डलर र काँश्य पदक जित्ने दुर्ई जनाको लागी पच्चीस–पच्चिस हजार डलर पुरस्कारको साथै मेडल, प्रमाण पत्र र च्याम्पीयनसिप वेल्टको व्यवस्था गरिएको छ ।

नेपाल वक्सिङ्ग संघले गठन गरेको छनोट समितीको प्रतिवेदनअनुसार छनोट गरिएको प्रतियोगिताबाट उत्कृष्ट ४८ के.जी. तौल समुहमा रविन थापा, ५७ के.जी. तौल समुहमा पुरन राई, ६३.५ के.जी. तौल समुहमा भुपेन्द्र थापा र ६७ के.जी. तौल समुहमा सनिल साहीले प्रतिस्पर्धा गर्नेछन् ।

त्यसै गरि प्रशिक्षकको जिम्मेवारी प्रमुख प्रशिक्षक प्रकास थापा मगर, प्रशिक्षक किशोर लिम्बु र अफिसीयल्समा नेपाल बक्सिङ्ग संघ सदस्य मान बहादुर भण्डारी र प्रनिर अधिकारीलाई जिम्मेवारी दिइएको छ । बक्सिङ्ग टोली शुक्रबार राती नै दुबई एयरलाइन्सबाट बेलग्रेडतर्फ प्रस्थान गरेको नेपाल बक्सिङ संघका प्रवक्ता श्यामकाजी अवालेले बताए ।


प्रतिक्रिया दिनुहोस

Loading...