प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङ कात्तिकमा

काठमाडौं (खेलदैनिक) । नेपाल बक्सिङ संघको आयोजना तथा प्रकाश दाहाल स्मृति प्रतिष्ठानको सहकार्यमा प्रकाश दाहाल स्मृति दोश्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता कात्तिक २९ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा तीन विभागीय टिमसहित करिब २५० खेलाडीको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजक बक्सिङ संघका अध्यक्ष राम अवालेले जानकारी गराए । पुरुषमा १३ र महिलामा ८ गरी जम्मा २१ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक संघका प्रवक्ता श्यामकाजी अवालेले जानकारी दिए ।

प्रत्येक तौलसमूहमा कम्तीमा १० हजार नगद पुरस्कार राखिएको छ । प्रायोजक बढेमा पुरस्कार राशीमा पनि बृद्धि गर्न हुन सक्ने आयोजकले जनाएको छ ।

प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा गर्ने तयारी रहेपनि यकिन भइ नसकेको बताइएको छ । कभर्डहलमा सम्भव नभए काठमाडौंमै प्रतियोगिता हुने छ ।

विश्व बक्सिङका लागि खेलाडी सार्वजनिक

पत्रकार सम्मेलनमा बक्सिङ संघले सर्बियाको बेलग्रेडमा हुने आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडी सार्वजनिक गरेको छ ।

अक्टोबर २५ देखि नोभेम्बर ६ तारिखसम्म हुने विश्व च्याम्पियनसिपमा सहभागी हुने ४ खेलाडी घोषण गरियो । खेलाडी छनोट गर्न नेपाल बक्सिङ संघले असोज १ देखि ४ गतेसम्म सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा खुला छनोट प्रतियोगिता आयोजना गरेको थियो । उक्त छनोटको आ–आफ्नो ५ तौलसमूहमा पहिलो भएका पाँच खेलाडी मध्येबाट ४ खेलाडी छनोट गरिएको हो ।

विश्व बक्सिङका लागि छनोट हुनेमा ४८ केजीमा रविन थापा, ५७ केजीमा पुरन राई, ६७ केजीमा सनिल शाही र ६३.५ केजीमा भुपेन्द्र थापा मगर रहेका छन् । सनिल र भुपेन्द्र १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी हुन् ।


प्रतिक्रिया दिनुहोस

Loading...