“हामी गोर्खाली हौ, बक्सिङमा राम्रो गर्न सक्छौं”

काठमाडौं (खेलदैनिक) । राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवालले नेपाली बक्सिङ खस्किनुको कारण खोज्ने बेला भएको बताएका छन् ।

नेपाल बक्सिङ संघले आइतबार आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै सदस्य सचिव सिलवालले भने – “कुनै बेला दक्षिण एसियामा पावर हाउसको रुपमा रहेको नेपाली बक्सिङ खस्किनुको कारणा खेज्ने बेला आएको छ । नेपाली बक्सिङ कुनै बेला दक्षिण एशियाको शक्ति केन्द्र बनेको थियो किन खस्कियो ? दोषी को राखेप, संघ, खेलाडी, कारण खोजिनु पर्छ ।”

नेपाल भन्दा सानो मुलुक क्युवाले बक्सिङ खेलमा तहल्का मचाएकोे उदाहरण दिँदै सदस्य सचिव सिलवालले अगाडी भने – “हामी गोर्खाली हौ बक्सिङमा राम्रो गर्न सक्छौं । सानो देश क्युवाले ओलम्पिकमा मेडल ल्याउन सक्छ, नेपालले किन सक्दैन ? पदक जित्ने बानी भए पछि गोर्खाली हौ ह्याकुुलाले मिचेर पनि ल्याईन्छ । नतिजामुखी भएर लाग्नुस् राखेपको सहयोग सदैब रहन्छ ।”

त्यस्तै कार्यक्रममा बोल्दै राखेप उपाध्यक्ष पिताम्बर तिम्सिनाले बक्सिङ संघमा समस्य भएकोे स्मरण गराउदै भने – “बक्सिङ संघमा केहि समस्याहरु छन् । राखेप खेलकुद विवादरहित बनाउन लागिपरेको छ । गौरबपुर्ण इतिहास बोकेको बक्सिङ एक भएर अगाडि बढ्नु पर्छ । पछिल्लो समय बक्सिङ राम्रो हुँदै गएको छ, अब यतिले पुग्दैन । बक्सिङको लागि के सहयोग गर्नु पर्छ राखेप सधै तयार छ ।”

नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले नेपालमा आयोजना हुने दक्षिण एसियाली खेलकुदमा पदक जित्ने दाबी गदै राष्ट्रिय टोलीका खेलाडीलाई बिशेष प्रशिक्षणका लागि थाइल्याण्ड पठाएको समेत जानकारी गराए ।

अवाले भन्छन् “सागमा हामीले पदक नजितेको धेरै समय भएको छ । हामीले नजर अहिले सागमा लगाएका छौँ । १३ औं सागमा पदक ल्याउने लक्ष्य छ । त्यसको लागि हामीले टिम थाइल्याण्ड पठाएको छौँ ।”

संघका बरिष्ठ उपाध्यक्ष अर्जुन बहादुर केसीले सागका लागि नेपालले राम्रो तयारी गरिरहेको बताउँदै सागमा कम्तिमा ३ स्वर्ण जित्ने बताए ।
संघले नव नियुक्त सदस्य सचिव सिलवाललाई सम्मान पत्रसहित स्वागत गरेको थियो । कार्यक्रममा बक्सिङ खेलका ओलम्पियन,बक्सिङ खेलाडी,पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...