बक्सिङ्गका आशिष र माला पहिलो खेलबाटै बाहिरिए

(तस्विर नेपाल खेलकुद पत्रकार मञ्च)

काठमाडौं (खेलदैनिक) । नेपालका आशिष दुवाडी र माला राई भारतको नयाँ दिल्लीमा सुरु इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगिताबाट बाहिरिएका छन् । आइतबार भएको पहिलो खेलमा दुवाडी आयोजक भारतका खेलाडी र राई मंगोलियाकी खेलाडीसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएका हुन् ।

दिल्लीस्थित त्यागराज स्पोर्ट्स कम्प्लेक्समा पुरुष सुपर हेबिवेटको ९१ केजी तौल समूहमा त्रिभुवन आर्मी क्लबका आशिष भारत ए टिमका सतिस कुमारसँग ५ – ० ले पराजित भए ।

दवाडी गत पुसमा भएको राखेप च्याम्पियनसिपमा स्वर्ण जित्दै यो प्रतियोगिताको लागि छनोट भएका थिए । यस्तै फ्लाइवेट ५१ केजी तौल समूहमा रिङ उत्रेकी एपीएफ क्लबकी माला मंगोलियाकी जार्गालन ओचिरबटसँग ५ – ० ले नै पराजित भईन् ।

प्रतियोगिता अन्तर्गत आइतबार नै नेपालबाट अन्य चार खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । महिलातर्फ अब ललिता महर्जन, विमला श्रेष्ठ र संगीता सुनारले प्रतिष्पर्धा गर्ने छिन् । पुरुषतर्फ विष्णु प्रसाद घलेको खेल बाँकी छ ।
प्रतियोगितामा नेपाल र आयोजक भारतसहित २३ राष्ट्रको सहभागिता रहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...