विद्यालयमा बक्सर खोजी

काठमाडौं । विद्यालय तहदेखि नै खेलाडी उत्पादन गर्ने उद्देश्यले नेपाल बक्सिङ संघले ‘विद्यालय बक्सिङ कार्यक्रम’ शुरु गरेको छ । यही कार्यक्रम अन्तर्गत सोमबार धापाखेलमा अवस्थित जेम्स स्कुलका विद्यार्थीलाई बक्सिङ खेलको आधारभूत ज्ञानका साथै प्रयोगात्मक ज्ञान दिइएको छ ।

कार्यक्रममा नेपाल बक्सिङ संघका मानार्थ आजीवन अध्यक्ष विष्णुगोपाल श्रेष्ठ, अध्यक्ष राम अवाले, बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापा मगर, एसियाली खेलकुदमा कांश्य पदक विजेता दीपक महर्जन र विद्यालय बक्सिङ कमिसनका पुष्करराज पन्तले बक्सिङ खेलको सैद्धान्तिक तथा आधारभूत विषयमा प्रकाश पारेका थिए । काजकिस्तानका प्रशिक्षक मुख्तारले विद्यार्थीलाई बक्सिङको प्रयोगात्मक ज्ञान दिएका थिए ।

कार्यक्रममा नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले नेपाली बक्सिङ खेलको श्रीवृत्तिका लागि विद्यालय तहदेखि नै खेलाडीको खोजी गर्न ‘विद्यालय बक्सिङ कार्यक्रम सुरु गरेको बताए । यसैगरी संघका आजीवन मानार्थ अध्यक्ष श्रेष्ठले राष्ट्रको नाम उँचो बनाउन खेलकुदले महत्वपूर्ण भूमिका खेल्ने भएकाले यो अभियानमा सहभागी भएर बक्सिङ खेल्न विद्यार्थीलाई आग्रह गरे ।

काजकिस्तानका प्रशिक्षक मुख्तारले जेम्स स्कुलका करिव डेढ सय विद्यार्थीलाई बक्सिङको प्रयोगात्मक ज्ञान दिएका थिए । उनले भविष्यमा के बन्ने भनेर रोज्ने उपयुक्त समय विद्यालयमा अध्ययन गर्दै गर्दाको समय भएकाले आफ्ना लागि सही निर्णय गर्न आग्रह गरे ।

कार्यक्रममा जेम्स स्कुलका प्रमुख कार्यकारी अधिकृत बलभद्र अधिकारीले खेलकुदले अनुशासनमा बस्न सिकाउने भएकाले समयको व्यवस्थापन गर्न सकेमा पढाईका साथै खेलकुदमा पनि राम्रो गर्न सकिने बताए । उनले केही समयपछि नै विद्यालयमा बक्सिङ खेलको प्रशिक्षण सुरु गर्ने प्रतिवद्धता जनाए ।


प्रतिक्रिया दिनुहोस

Loading...