उमेश बने १६औंं धर्मश्री च्याम्पियन

काठमाडौं (खेलदैनिक) । झापाका उमेश राईले १६औं धर्मश्रीको खिताव जितेका छन् । एनआरके फिटनेशका राईले झापाकै ग्यालेक्सी फिटनेशका ललित धिमाललाई पछि पार्दै उपाधी जितेका हुन् ।

राईले नगद १० लाख, ट्रफी, मेडल, प्रमाण पत्र र अन्य उपहार प्राप्त गरे । यस्तै धिमालले उपबिजेता भए बापत नगद ५ लाख हात पारे । तृतीय स्थानमा मसल्स एण्ड फिटनेश, नयाँबजारका कृष्ण बहादुर सूर्यबंशी रहे । उनले नगद २ लाख प्राप्त गरे ।

नेपालमा ब्यायामको क्षेत्रको माउ सस्था नेपाल ब्यायाम मन्दिरको आयोजनामा भएको धर्मश्री प्रतियोगितामा उमेश राई ८० केजी तौल समूहमा प्रथम स्थान हात पार्दै धर्मश्री उपाधीको ओभर अल राउण्डमा प्रवेश गरेका थिए । यस्तै धिमाल ८० केजी माथिको तौल समूहमा प्रथम स्थान हात पार्दै ओभर अल राउण्डमा प्रवेश गरेका थिए । सूर्यवंशीले ७५ केजी तौल समूहमा प्रथम स्थान हात पार्दै धर्मश्रीका लागि प्रतिस्पर्धा गरेका थिए ।

शनिबार ढिलो गरि सम्पन्न प्रतियोगितामा ७ तौल समूहमा भएको प्रतिस्पर्धाबाट प्रत्येक तौल समूहमा विजेता भएका खेलाडीहरुले अन्तिम चरणमा धर्मश्रीका लागि प्रतिस्पर्धा गरेका थिए । त्यही क्रममा चौथो स्थानमा बिलिजेण्ड शेप फिटनेश, खुसिवुका सन्जम सागर शाक्य रहे ।

७० केजी तौल समूहका उनले नगद १ लाख ५० हजार प्राप्त गरे । पाँचौ स्थानमा प्लानेट फिटनेश ईटहरीका पुष्प शंकर रहे । ६५ केजी तौलका उनले नगद १ लाख प्राप्त गरे । छैटौ स्थानमा आयोजक नेपाल ब्यायाम मन्दिरका डेभिड बलामी रहे ।

६० केजी तौलका उनले नगद ९० हजार प्राप्त गरे । यस्तै अन्तिम तथा सातौं स्थानमा आयोजक संस्थाकै राजु राई रहे । ५५ केजी तौल समूहका उनले नगद ८० हजार प्राप्त गरे । बिजयी खेलाडीहरुलाई सम्माननिय उप–राष्ट्रपति नन्द किशोर पुनले पुरस्कार वितरण गरेका थिए ।

तौल समूह अन्तरगत भएको प्रतिस्पर्धामा ५५ केजी तौलमा जिम एक्स नयाबजारका उमेश डङ्गोल दोश्रो र हेल्थ बेनिफिटनेश, नेपालगंजका सिद्धान्त जसरोटिया तेश्रो भए । ६० केजीमा युनिभर्सल फिजिकल फिट, भक्तपुरका किशन दास दिवाकर दोश्रो र रत्नश्री, पोखराका सुरेश लामा तेश्रो भए ।

६५ केजीमा आयोजकका आशिष देवाजु दोश्रो र यारो फिटनेश, मोरङ्गका मोनोज सुवेदी तेश्रो भए । ७० केजीमा द वर्कआउट स्टेशन, नयाँबजारका अशोक महर्जन दोश्रो र रुपन्देही फिटनेश टाईमभका कृष्ण प्रसाद श्रेष्ठ तेश्रो भए । ७५ केजी तौलमा बिलिजेण्ड शेप फिटनेश, खुसिबुका प्रवेश श्रेष्ठ दोश्रो र आयोजकका आदित्य ठाकुर तेश्रो भए ।

८० केजीमा प्याराडईज फिटनेश सेन्टर, कलंकीका बिवेक सिंह धामी दोश्रो र प्लाटिनियम फिजिक फिटनेश, बानेश्वरका हरि थापा तेश्रो भए । ८० केजी माथिको तौलमा आयोजकका ग्रिस महर्जन दोश्रो र गोर्खाली फिटनेश, न्यूरोडका अरुण कुमार प्रधान तेश्रो भए । दोश्रो हुने खेलाडीले नगद ४० हजार र तेश्रो हुने खेलाडीले २५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...