मिस्टर काठमाडौंको तयारी अन्तिम चरणमा

काठमाडौं (खेलदैनिक) । नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघको तत्वावधान तथा काठमाडौं शारीरिक सुगठन तथा फिट्नेस संघको आयोजनमा राष्ट्रिय खुला मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

यहि भदौ २० र २१ गते हुने प्रतियोगिताका दौरान महिला एथलेटिक्स फिजिक्स प्रतियोगिता, जुनियर मिस्टर काठमाडौं प्रतियोगिता र पुरुष स्पोर्ट्स फिजिक्स पनि हुने आयोजक संघका अध्यक्ष सुरेश सुवेदीले जानकारी गराए ।

सुरुका तीन संस्करण काठमाडौं जिल्लाव्यापी भएकोमा यस संस्करणदेखि राष्ट्रिय खुला प्रतियोगिताका रुपमा आयोजना गर्न लागिएको हो । मिस्टर काठमाडौंमा विभिन्न ६ तौलसमूहमा प्रतिस्पर्धा हुनेछ । प्रत्येक तौलसमूहमा शीर्ष पाँच स्थान हात पार्ने खेलाडी फाइनलमा प्रवेश गर्ने छन् ।

फाइनलमा प्रत्येक वजनसमूहमा पहिलो हुने खेलाडीबीच पुनः मिस्टर काठमाडौं उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । हरेक तौलसमूह शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाउने छन् । मिस्टर काठमाडौं उपाधि विजेतालाई १ लाख ५० हजार नगदबाट पुरस्कृत गरिने छ ।

महिला एथलेटिक्स फिजिक्समा पहिलो हुनेले ३० हजार, दोश्रोले १५ हजार र तेश्रोले ५ हजार नगद पुरस्कार हात पार्ने छन् । जुनियर मिस्टर काठमाडौं प्रतियोगितामा २०७५ साल चैत मसान्तसम्ममा २१ वर्ष ननाघेका खेलाडीले भाग लिने पाउने प्रावधान रहेको छ । पहिलो हुनेले ३० हजार, दोश्रोले १५ हजार र तेश्रोले ५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

त्यस्तै पुरुष स्पोर्ट्स फिजिक्समा १७० सेन्टिमिटर सम्म र १७० सेन्टिमिटर भन्दामाथि उचाईं गरी २ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । दुवै स्पर्धामा शीर्ष तीन स्थानमा रहने खेलाडीले ३० हजार, १५ हजार र ५ हजारका दरले नगद पुरस्कार पाउने छन् ।

सबै स्पर्धामा मिलाएर जम्मा १ सय ३० खेलाडीको सहभागिता रहने अध्यक्ष सुवेदीले जानकारी दिए । पहिलो दिन प्रिजजिङ राउन्ड नक्सालस्थित नक्साल बैंक्युटमा हुनेछ भने फाइनल कमलादीस्थित नेपाल एकेडेमी हलमा खेलाइने छ ।

पाँचै स्पर्धामा पहिलो हुने खेलाडीलाई आयोजक संघले १ वर्षका लागि मासिक १ हजारका दर प्रोत्साहन पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष सुवेदीले बताए । प्रतियोगिता सञ्चालन गर्न करिब २० लाख रुपैयाँ खर्च हुने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...