शारीरिक सुगठन प्रशिक्षक प्रशिक्षण कोर्ष सम्पन्न

प्रशिक्षण प्रशिक्षक कोर्षमा सहभागी प्रशिक्षक माधव प्रसाद त्रिपाठीलाई प्रमाण पत्र प्रदान गर्दै प्रमुख अतिथी राखेपका उपाध्यक्ष लामा टेन्डि शेर्पा ।

काठमाडौं (खेलदैनिक) । शारिरीक सुगठनका दक्ष प्रशिक्षक उत्पादन गर्ने उद्धेश्यले काठमाण्डौमा शनिबार प्रशिक्षक प्रशिक्षण कोर्ष सम्पन्न भएको छ ।

हिमालयन किङ्गडम नेप्लिज फेडेरेशन अफ बडिबिल्डिङ्ग एण्ड फिटनेशको आयोजनामा भएको कोर्षमा नेपालका विभिन्न जिल्लाका ५९ प्रशिक्षकहरुले प्रशिक्षण लिएका थिए ।

विगतमा शारिरीक सुगठनका क्षेत्रमा लागेका प्रशिक्षकहरुले सैद्धान्तिक पक्षको जानकारी विना आफुले सिक्दाका बखत जे सिकेका थिए त्यसैका आधारमा प्रशिक्षण प्रदान गर्दै आइरहेका थिए ।

यस कोर्ष पश्चात प्रशिक्षकहरुले दक्षता प्राप्त गरि सैद्धान्तिक पक्षका साथ ब्यक्ति अनुसारको प्रशिक्षण प्रदान गर्ने कोर्ष संयोजक एवं प्रशिक्षक शिवलाल श्रेष्ठले जनाए ।

प्रशिक्षार्थी प्रशिक्षकहरुलाई राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष लामा टेन्डी शेर्पाले प्रमाण पत्र प्रदान गरेका थिए ।

सात दिन सम्म फेडेरेशनको सोरखुट्टेस्थित कार्यालयमा संचालन भएको कोर्षमा सहभागी प्रशिक्षकहरुलाई आ–आफ्ना क्षेत्रमा दक्षता हासिल गरेका व्यक्तित्वहरु एथलेटिक्स तथा स्पोर्टस साईन्सका स्नात्तोकत्तर एवं कोरियाका भिजिटिङ्ग प्रोफेसर दीवाकर अमात्यले स्पोर्टस् साईन्स, युएसएबाट न्यूट्रिसनमा दक्षता प्राप्त गरेका सुनिल राजवंशीले न्यूट्रिसन, टियु साईकोलोजीका लेक्चरर रक्की महर्जनले स्पोर्टस साईकोलोजी, दक्षिण एशियन राडोका कार्यकारी सदस्य डा. सरोज कृष्ण श्रेष्ठले स्पोर्टस् मेडिसिन र नेपाली शारिरीक सुगठनका ज्ञाता शिवलाल श्रेष्ठले शारिरीक सुगठन सम्वन्धि विविध बिषयमा प्रशिक्षकहरुलाई प्रशिक्षण प्रदान गरेका थिए ।

प्रमुख प्रशिक्षक तुलाधर सम्मानित

सोही कार्यक्रमकाविच हिमालयन किङ्गडम नेप्लिज फेडेरेशन अफ बडिबिल्डिङ्ग एण्ड फिटनेशका सचिव राजेन्द्र तुलाधरलाई राष्ट्रिय खेलकुद परिषद् शारिरीक सुगठनको प्रमुख प्रशिक्षकमा नियुक्त भएकोमा महासंघले सम्मान पत्रद्वारा सम्मान गरेको थियो । तुलाधरलाई प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष लामा टेन्डि शेर्पाले सम्मान पत्रद्वारा सम्मान गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...