ज्ञान निकेतन, रिलायन्स र सेबलाई हिमालयन कप

ज्ञान निकेतन, रिलायन्स रेसिडेन्सियल स्कुल र सेबले प्रथम हिमालयन कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् । ज्ञान निकेतन सिनियर ब्वाइज, रिलायन्स सिनियर गल्र्स र सेब जुनियर ब्वाइजमा च्याम्पियन बने ।हिमालयन एकेडेमीद्वारा आयोजित प्रतियोगिताको सिनियर ब्वाइज फाइनलमा ज्ञान निकेतनले नेरिकलाई ३३–२९ ले पराजित ग¥यो । विजेताका सम्राट भूमिले १६ अंक जोडे ।

सिनियर गल्र्सको उपाधि भिडन्तमा रिलायन्सले स्वर्णिमलाई २९–१२ ले हरायो । रिलायन्सको जितमा रिना भण्डारीले १२ अंक योगदान गरिन् ।

जुनियर ब्वाइजको फाइनलमा सेबले महामञ्जुश्रीलाई ३८–२० ले पाखा लगायो । सेबका लागि बाबुराम पुन मगरले १५ अंक जोडे ।

सिनियर ब्वाइजमा ज्ञान निकेतनका सम्राट भूमि, सिनियर गल्र्समा रिलायन्सकी कविता श्रेष्ठ तथा जुनियर ब्वाइजमा सेबका बाबुराम पुन मगर ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए । सिनियर ब्वाइजमा लभ्ली एन्जल, सिनियर गल्र्समा महामञ्जुश्री र जुनियर ब्वाइजमा जेनिथ एकेडेमीले अनुशासित टिमको उपाधि हात पारे ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पा, हिमालयनका प्रिन्सिपल अम्बर क्षेत्री र हिमालयनका अध्यक्ष प्रेम तिमल्सिनाले एक कार्यक्रमबीच पुरस्कृत गरे । जेठ ७ गतेदेखि सुरु प्रतियोगिताको सिनियर ब्वाइज, सिनियर गल्र्स र जुनियर ब्वाइजमा समान १६–१६ गरी ४८ टिम सहभागी थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...