ग्रेट माया र लुम्बिनीलाई उपाधि

ग्रेट माया र आयोजक लुम्बिनीले प्रथम लुम्बिनी कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् । ग्रेट माया ब्वाइज र लुम्बिनी गल्र्समा पहिलो भए ।

चुच्चेपाटीस्थित आयोजक लुम्बिनीको कोर्टमा भएको ब्वाइज फाइनलमा ग्रेट मायाले ग्रिनल्यान्डलाई २१–१० ले पराजित गर्‍यो  । विजेताका सुजन लिम्बूले ९ अंक जोडे । ग्रेट मायाबाट सुजनसहित साहिल विष्ट, सोनाम तेन्जिङ र अभिषेक सिंहले प्रतिस्पर्धा गरेका थिए ।

गल्र्सको उपाधि भिडन्तमा लुम्बिनीले लियोपार्डलाई ११–१० को साँघुरो अन्तरले हरायो । लुम्बिनीको जितमा प्रतीक्षा मगरले ६ अंक योगदान गरिन् । विजेता टोलीका अन्य सदस्यमा छिरिङ छोनी शेर्पा, निलम शेर्पा र अस्मिता थापा छन् ।

फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय सुजन र प्रतीक्षा आ–आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । दुवैले जनही ६० हजार रुपैयाँ बराबरको छात्रवृत्ति पाए ।

विजेतालाई नेपाल बास्केटबल संघका अध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पा, बास्केटबल संघका वरिष्ठ उपाध्यक्ष होम दोङ र महासचिव नरेन्द्र थापा तथा लुम्बिनीका प्रिन्सिपल रविनचन्द्र कोइरालाले पुरस्कार प्रदान गरे । तीनदिने प्रतियोगिताको ब्वाइज र गल्र्समा समान ३२–३२ गरी ६४ टिमले प्रतिस्पर्धा गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...