बिएमकेको जित

काठमाडौं (खेलदैनिक) । विशाल मिलन केन्द्र (बिएमके) ले प्रथम अनमोल स्मृति पुरुष खुला बास्केटबल प्रतियोगितामा मंगलबार जित हात पारेको छ । चण्डोलस्थित घरेलु कोर्टमा बिएमकेले कीर्तिपुरलाई ५४–४९ ले पराजित गर्यो । बिएमकेका दिपसन केसीले २१ अंक जोडे ।

बिएमकेले पहिलो क्वाटरमा २१–९ को अग्रता बनाउदै जितको आधार खडा गरेको थियो । दोश्रो क्वाटरमा ८–७ को झीनो अग्रता कायम गरेको बिएमके तेश्रोमा ९–१४ र चौथोमा १६–१९ ले पछि पर्यो ।

शिव सेना नेपाल, ललितपुरद्वारा आयोजित प्रतियोगितामा टाइम्स र रोयलले सफलता पाए । समान २–२ खेल खेलेका रोयल र टाइम्सको यो लगातार दोश्रो जित हो । टाइम्सले गोल्डेनगेटलाई ८४–६० ले हरायो । टाइम्सका मविन्द्र क्षेत्रीले २६ स्कोर गरे । चारै क्वाटर आफ्नो पक्षमा परेको टाइम्सले क्रमशः २२–१२, १६–१५, २४–१४ र २२–१९ स्कोर गर्यो ।

रोयलले क्याम्पियनमाथि ६५–४४ को सहज जित दर्ता गर्यो । रोयलका निकेश मगरले १२ अंक बटुले । पहिलो क्वाटरमा १९–१२ को अग्रता लिएको रोयल दोश्रोमा १०–१२ ले पछाडि पर्यो । रोयल तेश्रोमा १७–९ र चौथोमा १९–११ ले अगाडि रह्यो ।

प्रतियोगिताअन्तर्गत बुधबार ४ खेल हुने छ । टाइम्सले कीर्तिपुर, बिएमकेले गोल्डेनगेट, रोयलले स्कल क्यान्डी तथा गोड्सले क्याम्पियन विरुद्ध प्रतिस्पर्धा गर्ने छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...