सेब दोहोरो उपाधिनजिक

काठमाडौं (खेलदैनिक) । सामाखुशी इङलिस बोर्डिङ स्कुल (सेब) चौथो भानुभक्त मेमोरियल अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शनिबार दोहोरो उपाधिनजिक पुगेको छ । सेब सिनियर र जुनियर ब्वाइज दुवैमा फाइनलमा पुग्यो ।

सिनियर ब्वाइजमा सेबले न्यु बुद्ध प्रकाशलाई ५१–३९ ले पराजित गर्यो । सेबका रेजिल गुरुङले २६ अंक जोडे । उपाधिका लागि सेबले महामञ्जुश्रीसंग भिड्ने छ । महामञ्जुश्रीले न्यु समितलाई ४६–३२ ले हराएको थियो ।

जुनियर ब्वाइजमा सेबले एचएचसीएलाई ३०–१५ ले पाखा लगाउदै ग्रिनफिल्डसंग फाइनल भेट पक्का गर्यो । अर्को सेमिफाइनलमा ग्रिनफिल्डले गोल्डेनपिकलाई २८–१६ ले पन्छाएको थियो । ग्रिनफिल्डका गोविन्द शाहीले १० स्कोर गरे ।

सिनियर गल्र्समा एचएचसीएले टीआईएलाई २८–१८ तथा सिद्धार्थ बनस्थलीले आयोजक भानुभक्त मेमोरियल स्कुललाई २२–१५ ले निराश पार्दै उपाधि भिडन्त पक्का गरे । एचएचसीएकी अनिता सुनारले ६ तथा सिद्धार्थ बनस्थलीकी यशस्वी गुप्ताले ८ अंक बटुले ।

भानुभक्त मेमोरियल स्कुलकै आयोजनामा भइरहेको प्रथम भानुभक्त मेमोरियल अन्तरविद्यालय नेटबल प्रतियोगितामा भने आयोजक भानुभक्त र मंगलदीप फाइनलमा पुगिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...