आठौं इनोभेटिभ कप : इनोभेटिभको दोश्रो जित

आठौं इनोभेटिभ अन्तरविद्यालय बास्केटबलको सिनियर ब्वाइजमा ग्रिनल्यान्डका राजिव आले मगर श्रीदिवा विरुद्ध बल अगाडि बढाउदै ।

काठमाडौं (खेलदैनिक) । आयोजक इनोभेटिभ इङलिस स्कुलले आठौं इनोभेटिभ कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा आइतबार लगातार दोश्रो जित हात पारेको छ ।

राउन्ड रोविन लिगको दोश्रो खेलमा इनोभेटिभले स्वप्न वाटिकालाई २०–१२ ले पराजित गर्यो । इनोभेटिभको जितमा समन्ता थापाले ५ अंक योगदान गरिन् ।

सिनियर ब्वाइजमा ग्रिनल्यान्ड, भ्याली पब्लिक र नेरिक विजयी भए । राजिव आले मगरको १८ अंक सहयोगमा ग्रिनल्यान्डले श्रीदिवालाई ४३–२७ ले हरायो । भ्याली पब्लिकले काठमाडौं जेभियरलाई ४९–४४ ले पाखा लगायो । भ्याली पब्लिकका राहुल विकले २२ अंक बटुले । नेरिकले इनोभेटिभलाई ५७–३५ ले निराश पार्यो । नेरिकका साजन थापा र महेश क्षेत्रीले समान २०–२० स्कोर गरे ।

जुनियर ब्वाइजमा स्वप्न वाटिकाले इनोभेटिभलाई १९–८ तथा पुष्पसदनले एआईएलाई २२–१९ ले पन्छाए । स्वप्न वाटिकाका अर्पण राईले १२ तथा पुष्पसदनका आशिष महर्जनले ६ अंक जोडे ।


प्रतिक्रिया दिनुहोस

Loading...