बुम महिला बास्केटबल : साइपाल शीर्ष स्थानमा

तेश्रो बुम महिला बास्केटबलमा साइपाल (कालो) र एनसीसीएसबीचको खेल ।

काठमाडौं (खेलदैनिक) । डिफेन्डिङ च्याम्पियन साइपाल एकेडेमीले तेश्रो बुम महिला बास्केटबल प्रतियोगितामा बुधबार शीर्ष स्थानमा रहँदै राउन्ड रोविन लिग टुंगाएको छ ।

लिगको अन्तिम दिन साइपालले आयोजक एनसीसीएसलाई ६०–४० ले हराउदै पाँच टिम सहभागी प्रतियोगितामा लगातार चौथो जित हात पार्यो । अपराजित साइपालको जितमा रोशनी श्रेष्ठले १० अंक योगदान गरिन् । एनसीसीएसका लागि तनुजा गुरुङले १६ अंक जोडेपनि जितलाई पर्याप्त भएन ।

पहिलो र दोश्रो क्वाटरमा १४–४ र १३–३ को अग्रता लिएको साइपाल तेश्रोमा १७–२० ले पछि पर्यो । अन्तिम तथा चौथो क्वाटरमा साइपालले १६–१३ को प्रदर्शन गर्यो ।

अर्को प्रतिस्पर्धामा एनसीसीएससंगै संयुक्त आयोजक रहेको विशाल मिलन केन्द्र (बीएमके) ले काठमाडौं नर्थ पोल क्लबलाई ३२–२० ले हरायो ।

पहिलो क्वाटर ७–७ को बराबरीमा टुंगियो भने दोश्रोमा बीएमकेले ८ अंक जोड्दा नर्थ पोल अंकविहीन बन्यो । तेश्रोमा बीएमके ७–८ ले पछाडि पर्यो भने चौथोमा १०–५ को अग्रता हासिल गर्यो ।

राउन्ड रोविनको समाप्तिमा शत प्रतिशत जितसाथ साइपाल शीर्ष स्थानमा रहँदा ३ जित र १ हारसाथ समृद्धि गोरिल्लाज दोश्रो भयो । बीएमके (२ जित र २ हार) तेश्रो तथा नर्थ पोल (१ जित र ३ हार) चौथो भए । कुनैपनि खेल नजितेको एनसीसीएस प्रतियोगिताबाट बाहिरिएको छ ।

अब पहिलो स्थानको साइपाल र दोश्रो भएको समृद्धिले फाइनलमा प्रवेशका लागि खेल्ने छन् । यसमा पराजित हुनेले तेश्रो स्थानको बीएमके र चौथो स्थानको नर्थ पोलबीचको विजेतासंग पुनः फाइनल प्रवेशका लागि खेल्न मौका पाउनेछ । प्रतियोगिताअन्तर्गत बिहीबार साइपाल र समृद्धि तथा बीएमके र नर्थ पोलबीच प्रतिस्पर्धा हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...