भ्याली पब्लिक र एन्जल्स हर्टलाई उपाधि

प्रथम नेसनल युनाइटेड अन्तरविद्यालय बास्केटबल उपाधि विजेता भ्याली पब्लिक र एन्जल्स हर्ट टोली ।

काठमाडौं (खेलदैनिक) । भ्याली पब्लिक र एन्जल्स हर्टले प्रथम नेसनल युनाइटेड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । भ्याली पब्लिक गल्र्स तथा एन्जल्स हर्ट ब्वाइजतर्फ च्याम्पियन बने ।

बूढानीलकण्ठको गणेशचोकस्थित आयोजक नेसनल युनाइटेड स्कुलको कोर्टमा भएको गल्र्स फाइनलमा भ्याली पब्लिकले चाँदबागलाई २४–१२ ले हरायो । भ्याली पब्लिकको जितमा पुर्णिमा परियारले ११ अंक योगदान गरिन् । सितोस्ना केसीको ११ अंक सहयोगमा ग्रीनल्यान्डले भद्रकालीलाई २१–१५ ले हराउदै तेश्रो भयो ।

ब्वाइजको उपाधि भिडन्तमा एन्जल्स हर्टले स्काइलार्कमाथि ३८–२१ को जित दर्ता गर्यो । एन्जल्स हर्टका प्रतीक गौलीले १५ अंक जोडे । लालीगुराँसले ग्रीनल्यान्डलाई २४–१५ ले पन्छ्याउदै तेश्रो भयो । लालीगुराँसका यसकुमार भण्डारी र रोशन श्रेष्ठले समान ५–५ स्कोर गरे ।

प्रथम नेसनल युनाइटेड अन्तरविद्यालय बास्केटबलका एमभीपी प्रतीक गौली र पुर्णिमा परियार ट्रफीसाथ ।

फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय प्रतीक र पुर्णिमा आ–आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । ब्वाइजमा लालीगुराँसका रोशन श्रेष्ठ तथा गल्र्समा भ्याली पब्लिककी सुजु गुरुङ उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए । ब्वाइजमा स्काइलार्कका हेमन्त मगर तथा गल्र्समा चाँदबागकी रोजी राई सर्वाधिक स्कोरकर्ता बने । प्रतियोगिताभर हेमन्तले ७३ तथा रोजीले ४५ अंक जोडे ।

विजेतालाई काठमाडौं प्याब्सनका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, नेसनल युनाइटेडका संस्थापक निर्देशक जेबी हमाललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरेका थिए । सो अवसरमा आयोजक नेसनल युनाइटेडले प्रतियोगिता संयोजक पूर्ण न्यौपानेलाई सम्मान गरेको थियो । मंसिर २८ गतेदेखि सुरु प्रतियोगिताको ब्वाइजमा १६ तथा गल्र्समा ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...