साइपाल, न्यु भिजन र हिमालयलाई उपाधि

प्रथम हिमालय कप बास्केटबल उपाधि विजेता साइपाल, न्यु भिजन र हिमालयका खेलाडी ।

काठमाडौं (खेलदैनिक) । साइपाल एकेडेमी, न्यु भिजन र आयोजक हिमालयले आइतबार प्रथम हिमालय कप बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । साइपाल प्लस टु सिनियर ब्वाइज, न्यु भिजन सिनियर गल्र्स र हिमालय जुनियर ब्वाइजमा च्याम्पियन बने ।

कोटेश्वरस्थित आयोजक हिमालयको कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा साइपालले सीसीआरसीलाई ६०–५४ ले पराजित गर्यो । साइपालको जितमा सुशान्त ओलीले १७ अंक योगदान गरे ।

प्रथम हिमालय कप बास्केटबल उत्कृष्ट खेलाडी बायाँबाट प्रिया तिमल्सिना, रुबन कार्की र सागर लामा ट्रफीसाथ ।

सिनियर गल्र्सको उपाधि भिडन्तमा न्यु भिजनले स्किब्सलाई ३०–२५ ले हरायो । न्यु भिजनकी प्रिया तिमल्सिनाले ९ अंक जोडिन् । जुनियर ब्वाइज फाइनलमा हिमालयले नवज्योतिमाथि ४१–२१ को जित दर्ता गर्यो । हिमालयका रुबन कार्कीले २३ अंक जोडे ।

सिनियर ब्वाइजमा साइपालका सागर लामा, सिनियर गल्र्समा न्यु भिजनकी प्रिया तिमल्सिना र जुनियर ब्वाइजमा हिमालयका रुबन कार्की ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना, हिमालयका प्रमुख कार्यकारी अधिकृत नरेन्द्रबहादुर अधिकारी, हिमालयका प्रिन्सिपल रामहरि सिलवाल, हिमालयकी निर्देशक संगीता सिलवाल, हिमालयका आर्थिक निर्देशक भुवनचक्र जोशीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

मंसिर १६ गतेदेखि सुरु प्रतियोगिताको सिनियर ब्वाइजमा १६ तथा सिनियर गल्र्स र जुनियर ब्वाइजमा समान ८–८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...