
प्रथम मनमोहन स्मृति खुला बास्केटबलको पुरुषमा आर्मी ‘ए’ सदीश प्रधान बुढानीलकण्ठ विरुद्ध स्कोरको प्रयासमा ।
काठमाडौं (खेलदैनिक) । नेपाल आर्मी ‘ए’ प्रथम मनमोहन स्मृति खुला बास्केटबल प्रतियोगिताको पुरुषतर्फ मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
चण्डोलस्थित विशाल मिलन केन्द्रको कोर्टमा भएको समूह ‘ए’ को लिगमा आर्मी ‘ए’ ले बुढानीलकण्ठलाई १०७–७७ ले पराजित गर्दै समूह विजेता बन्यो । आर्मीको जितमा रविन खत्रीले २६ अंक योगदान गरे ।
पहिलो क्वाटरमा २७–१७ को अग्रता लिएको आर्मी ‘ए’ दोश्रोमा १८–२३ ले पछि पर्यो । बाँकी दुई क्वाटर आफ्नो पक्षमा पारेको आर्मी ‘ए’ ले तेश्रोमा ३५–१५ र चौथोमा २७–२२ अंक जोड्यो ।
पुरुषकै अन्य खेलमा आर्मी ‘बी’ र साउथ साइडर्स विजयी भए । आर्मी ‘बी’ ले एसडिसी हाउन्ड्सलाई ९०–८८ ले हरायो । विजेताका रामकृष्ण गोतामेले २१ स्कोर गरे । मिनेश श्रेष्ठको १० अंक सहयोगमा साउथ साइडर्सले आयोजक नेकोसमाथि ५२–५१ को कठिन जित दर्ता गर्यो ।