छात्र–छात्रा बास्केटबलको फाइनल शुक्रबार

पोखरा (खेलदैनिक) । पोखरामा जारी १५ औं संस्करणको विद्यालयस्तरिय कर्णेल जे.पी. क्रस छात्रछात्रा बास्केटबल प्रतियोगिताको फाइनल शुक्रबार हुने भएको छ ।

फाइनलमा छात्रतर्फ बालकल्याण र टप्स ए तथा छात्रातर्फ टप्स र मनकामना बोर्डिङ स्कूल उपाधीका लागि भिड्ने छन् ।

प्रतियोगिता अन्तरगत विहिबार छात्रतर्फको पहिलो सेमीफाइनलमा टप्स ए ले प्यारामाउण्ट स्कूललाई ६१–४२ अंकले हराउँदै फाइनल स्थान पक्का गरेको थियो । त्यसैगरी बालकल्याणले कास्की मोडर्नाइज्डलाई ६०–३५ अंकले हराउँदै टप्स एसंगको फाइनल पक्का गर्यो । 

प्रतियोगिताको उपाधीका लागि शुक्रबार दिउँसो छात्रातर्फको टप्स र मनकामना बोर्डिङ स्कूलबीच पहिलो र छात्रतर्फको टप्स ए र बालकल्याणबीच दोस्रो फाइनल खेल हुने कास्की जिल्ला बास्केटबल संघका अध्यक्ष नेत्रबहादुर सेनले बताए ।

अध्यक्ष सेनका अनुसार शुक्रबार विहान तेस्रो स्थानका लागि छात्रातर्फको रेन्बो एकेडेमी र माउण्ट अन्नपूर्णबीच पहिलो खेल र छात्रतर्फ प्यारामाउण्ट र कास्की मोडर्नाइज्डबीच दोस्रो खेल हुनेछ ।

विहिबार नै सम्पन्न क्वार्टरफाइनलमा टप्स ए ले मनकामना बोर्डिङ स्कूललाई ५०–४०, प्यारामाउण्ट बोर्डिङ स्कूलले कुमुदिनी होम्सलाई ४०–३३, कास्की मोडर्नाइज्डले सोसियल पब्लिकलाई ४६–३८ र बालकल्याणले माउण्ट अन्नपूर्णलाई २४–१५ अंकले हराउँदै सेमीफाइनलमा स्थान बनाएको थियो ।

प्रतियोगिता अन्तरगत छात्रातर्फको सम्पन्न सेमीफाइनल खेलमा टप्सले रेन्बो एकेडेमीलाई ३३–१० को फराकिलो गोल अन्तरले हराउँदै फाइनल पक्का गरेको हो । त्यसैगरी, अति प्रतिस्पर्धात्मक दोस्रो सेमीफाइनलमा मनकामना बोर्डिङ स्कूलले माउण्ट अन्नपूर्णलाई १५–१४ को झिनो अंकले हराउँदै फाइनलमा टप्ससंगको भेट पक्का गरेको हो ।

प्रतियोगिताको क्वार्टरफाइनलमा टप्सले सरस्वती आवासिय विद्यालयलाई २१–१८, रेन्बो एकडेमीले बीएमजीलाई २४–१०, माउण्ट अन्नपूर्णले कास्की मोडर्नाइज्डलाई १२–६ र मनकामनाले एलएलाई १६–० को अंकले हराउँदै सेमीफाइनल खेलेको थियो ।

छात्रछात्रा दुबैतर्फ प्रतियोगिताको विजेताले १० हजार, उपविजेताले ६ हजार र तृतीय हुने टिमले ४ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ । प्रतियोगिताको हाइस्कोरर र बेष्ट प्लेयरका लागि आकर्षक पुरस्कार रहेको छ आयोजकले बताएको छ ।

प्रमूख अतिथि एवम् नेपाली सेना पश्चिम पृतना विजयपुरका पृतनापती देबेन्द्रबहादुर मेधासी ठकुरीले विजेता तथा उपविजेता टिमलाई पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...