साबा यु–१६ पुरुष बास्केटबल सुरु, नेपालको विजयी सुरुआत

साबा यु–१६ बास्केटबलको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल ।

काठमाडौं (खेलदैनिक) । नेपालले साबा यु–१६ पुरुष बास्केटबल प्रतियोगितामा बुधबार विजयी सुरुआत गरेको छ । राउन्ड रोविन लिगको आफ्नो पहिलो खेलमा नेपालले भुटानलाई ९६–३८ ले सहजै हरायो । भुटानको लगातार दोश्रो हार हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा नेपालले पहिलो क्वाटरमा २६–१० को अग्रता लिएको थियो । दोश्रो क्वाटरमा नेपाल १३–१४ को सामान्य अन्तरले पछि पर्यो । बाँकी दुई क्वाटर नेपालले क्रमशः २६–६ र २१–८ ले आफ्नो पक्षमा पार्दै जित अन्तर फराकिलो बनाएको थियो ।

साबा यु–१६ पुरुष बास्केटबलमा नेपाल (सेतो) र भुटानबीचको खेल ।

जितमा अभिषेक सिंहको सर्वाधिक २३ अंक योगदान रह्यो । त्यस्तै नेपालको स्कोर बोर्डमा चिरञ्जिवी रोकायाले २०, आशिष बस्नेतले १२, सन्तोष खत्रीले ८, आकृष्त शाहीले ७, सयुन राई, निखिल डंगोल र सतीश लामाले समान ६–६, विक्रम बानियाँले ४, सुरेश विकले ३ तथा आशिष भुजेलले १ अंक थपे ।

दिनको पहिलो खेलमा भने भारतले बंगलादेशलाई ८२–६५ ले हराउदै लगातार दोश्रो जित दर्ता ग¥यो । जितसंगै भारत ४ अंकसाथ शीर्ष स्थानमा छ । बंगलादेशको भने दुई खेलमा यो पहिलो हार हो । दोश्रो स्थानमा रहेको बंगलादेशको ३ अंक भएको छ । अघिल्लो दिन मंगलबार भारतले माल्दिभ्स तथा बंगलादेशले भुटानलाई हराएका थिए ।

सुरुको क्वाटरमा २६–१३ को अग्रता लिएको भारत दोश्रोमा १६–१८ ले पछि परेको थियो । तेश्रोमा पुनः १६–९ को अग्रता बनाउन सफल भारत चौथोमा फेरि २४–२५ ले पछाडि रह्यो । भारतका लागि प्रियान्शुले सर्वाधिक २८ अंक जोडे ।

दक्षिण एसियाली ५ राष्ट्र सहभागी प्रतियोगिताको पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एक कार्यक्रमबीच उद्घाटन गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...