क्वीक्स ग्रीनल्यान्ड कप  बास्केटबल शुक्रबारदेखि

१२ औं क्वीक्स ग्रिनल्यान्ड अन्तर विद्यालय बास्केटबल प्रतियोगिता बारे जानकारी दिदै आयोजक ।

काठमाडौं (खेलदैनिक) । ग्रिनल्यान्ड माध्यमिक विद्यालयको आयोजनामा १२ औं क्वीक्स ग्रिनल्यान्ड अन्तर विद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि सुरु हुने भएको छ ।

धापासीस्थित विद्यालयको कोर्टमा हुने प्रतियोगितामा जुनियर छात्र र सिनियर छात्रमा ४० विद्यालयको सहभागिता रहने छ ।

प्रतियोगितामा जुनियर छात्रतर्फ २४ विद्यालयको सहभागिता रहेको छ । यस स्पर्धामा सहभागी खेलाडीको औसत उचाई ४ फिट १० इन्चभन्दा बढी हुनु नहुने र कक्षा आठसम्ममा अध्ययन गरिरहेको हुनुपर्ने विद्यालयका प्रधानाध्यापक थकिनकुमार गुरुङले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

यस स्पर्धामा सहभागी विद्यालयलाई आठ समूहमा विभाजन गरिएको छ । लिगकम नकआउटका आधारमा सञ्चालन हुने पहिलो चरणको खेलबाट १६ विद्यालय नकआउट चरणका लागि छनोट हुनेछन् ।

यसैगरी सिनियर छात्रमा १६ विद्यालयले प्रतिस्पर्धा गर्नेछन् । यस स्पर्धामा सहभागी विद्यालयलाई पनि चार समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका शीर्ष दुई टोली अघिल्लो चरणका लागि छनोट हुनेछन् ।

सिनियर छात्रमा पनि कक्षा नौसम्मका विद्यार्थीले मात्र प्रतिस्पर्धा गर्न पाउने प्रधानाध्यापक गुरुङले जानकारी दिए । भदौ ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताले नवप्रतिभावान खेलाडी जन्माउन सहयोगसिद्ध हुने विश्वास बास्केटबल प्रशिक्षक पूर्ण न्यौपानेले गरे ।

प्रतियोगिताको विजेता र उपविजेताले शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने प्रतियोगिाका ‘मोस्ट भ्यालुयवल प्लेयर’ ले पनि आकर्षक ट्रफी प्राप्त गर्ने छन् । वि.सं २०६२ सालदेखि हरेक वर्ष आयोजना हुँदै आएको प्रतियोगिताको १२ औं संस्करणलाई औद्योगिक घराना चौधरी समूहको क्वीक्स चिज बलले प्रायोजन गरेको छ ।

प्रतियोगिता सञ्चालनका लागि दुई लाख ५० हजार रुपैयाँ खर्च लाग्ने विद्यालयका सहायक प्राचार्य विनोद घिमिरेले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस

Loading...