टाइम्स र साइपाल यु–१८ बास्केटबल च्याम्पियन

प्रथम एन्जल्स हर्ट कप यु–१८ बास्केटबल प्रतियोगिताको ब्वाइज तथा गल्र्स तर्फका विजेता टोली सामूहिक तस्विर खिचाउँदै ।

काठमाडौं (खेलदैनिक) । टाइम्स र साइपालले प्रथम एन्जल्स हर्ट कप यु–१८ बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । शुक्रबार सम्पन्न प्रतियोगिताको ब्वाइजतर्फ टाइम्स र गल्र्सतर्फ साइपाल च्याम्पियन बनेका हुन् ।

मनमैजुस्थित एन्जल्स हर्ट स्पोर्ट्स एकेडेमीमा भएको ब्वाइज फाइनलमा टाइम्सले एन्जल्स हर्टलाई ५५–४५ ले पराजित गर्न सफल भयो । टाइम्सको जितमा आकाश नकर्मीले २२ अंक जोडे ।

पहिलो क्वाटरमा ११–२१ ले पछि परेपनि बाँकीका तीन क्वाटरमा अग्रता हासिल गर्दै टाइम्स उपाधिमाथि कब्जा जमाउन सफल भयो । टाइम्सले दोश्रोमा २१, तेश्रोमा ११ र चौथोमा १२ अंक जोड्यो । उक्त तीनै क्वाटरमा एन्जल्स हर्टले समान ८ स्कोर ग¥यो ।

गल्र्सको उपाधि भिडन्तमा पनि साइपालले एन्जल्स हर्टलाई नै ५२–२९ ले हरायो । साइपालको जितमा उत्कृष्ट प्रदर्शन गर्दै रोशनी श्रेष्ठले सवार्धिक ३१ अंक बटुलिन् । गल्र्सको राउन्ड रविनमा साइपाल विजेता र एन्जल्स हर्ट उपविजेता हुँदै फाइनलमा पुगेका थिए ।

सुरुको क्वाटरमा १०–८ को अग्रता लिएको साइपालले अन्तिमसम्म अग्रता कायम राख्यो । साइपालले दोश्रोमा १६–१०, तेश्रोमा १७–८ र चौथोमा १३–३ को प्रदर्शन गर्याे ।

एन्जल्स हर्ट स्कुल र एन्जल्स हर्ट इन्टरनेसनल कलेजद्वारा संयुक्त आयोजित प्रतियोगिताको ब्वाइजमा टाइम्सका आकाश नकर्मी र गल्र्समा साइपालकी रोशनी श्रेष्ठ ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए । ब्वाइजमा एन्जल्स हर्टका निकेश मगर र गल्र्समा साइपालकी प्रतीक्षा मगर प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने । प्रतियोगिताभर निकेशले १ सय २२ र प्रतीक्षाले ६२ अंक जोडे ।

विजेतालाई नेपाल बास्केटबल संघका अध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पा, एन्जल्स हर्ट कलेजका अध्यक्ष डा. लोकेन्द्र शेरचन, एन्जल्स ड्रिम कम्पनीका प्रमुख कार्यकारी अधिकृत शैलेन्द्रमान वज्राचार्य, एन्जल्स हर्ट स्कुलका निर्देशक यामबहादुर छन्त्याल, एन्जल्स हर्टका प्रिन्सिपल धनबहादुर पुनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । सो अवसरमा सहयोग विभिन्न संघ संस्थालाई प्रशंसा पत्रबाट सम्मान गरिएको थियो ।

असार २६ गतेदेखि सुरु प्रतियोगिताको ब्वाइजमा १४ तथा गल्र्समा ५ टिमले प्रतिस्पर्धा गरेका थिए । ब्वाइजको लिग कम नकआउट तथा गल्र्सको राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा भएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...