प्रथम यु–१८ एञ्जल्स् हार्ट बास्केटबल सोमबारदेखी

प्रथम यु–१८ एञ्जल्स् हार्ट बास्केटबल प्रतियोगिताबारे जानकारी द्रिदै आयोजक ।

काठमाडौं (खेलदैनिक) । एञ्जल्स् हार्ट मावी र एञ्जल्स् हार्ट इन्टरनेशनल कलेजको संयुक्त आयोजनामा प्रथम यु–१८ एञ्जल्स् हार्ट बास्केटबल प्रतियोगिता सोमबारदेखी शुरु हुने भएको छ ।

आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक एञ्जल्स् हार्टले प्रतियोगिता बारे जानकारी गराएको छ । यहि असार २६ गते देखि साउन ६ गतेसम्म हुने प्रतियोगितामा महिला र पुरुष गरी दुवैतर्फ स्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताबाट उमेरसमुहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले यु–१८ बास्केटबल प्रतियोगिता गर्न लागिएको विद्यालयका संस्थापक सहायक प्रधानध्यापक जयन्द्र शर्माले बताए । प्रतियोगितामा पुरुषतर्फ १६ टिमलाई चार समुहमा विभाजन गरि खेलाइने प्रतियोगिता संयोजक विकास शाहीले बताए । प्रत्येक समुहको शिर्ष दुई टिम नकआउट चरणमा प्रवेश गर्नेछन् ।

त्यस्तै महिलामा भने राउन्ड रोबिनको आधारमा पाँच टिमले प्रतिस्पर्धा गर्नेछन् । जसमा शिर्ष दुई स्थानमा रहेर लिग चरण पुरा गर्ने टिमले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । ‘खेल स्वास्थ्यका लागि ,स्वास्थ्य शिक्षाको लागि र शिक्षा राष्ट्रका लागि’ भन्ने मुल नाराका साथ हुन लागेको प्रतियोगिताको पुरुषतर्फ नेपालको यु–१६ टोली ए र बीको रुपमा प्रतिस्पर्धा गर्नेछन् ।

नेपालमै आगामी अगस्टमा हुने यु–१८ दक्षिण एसियाली बास्केटबल च्याम्पियनसिपको तयारीका लागि युवा टोलीले प्रतियोगिता खेल्न लागेको राष्ट्रिय महिला टिमका प्रशिक्षक समेत रहेका शाहीले बताए ।

एञ्जल्स् हार्ट ड्रिम्सका कार्यकारी प्रमुख शैलेन्द्र बज्रचार्यले नेपाली खेलकुद विकासमा टेवा पु¥याउने उद्देश्यले प्रत्येक वर्ष विभिन्न प्रतियोगिता आयोजना गर्नका लागि वार्षिक खेलकुद बजेट निर्धारण गर्ने योजना स्वरुप यस वर्ष १६ लाख रुपैयाँ छुट्याइएको बताए । यस प्रतियोगिताका लागि भने कुल तीन लाख पचास हजार अनुमानित लागत लाग्ने निर्देशक बज्रचार्यले बताए ।


प्रतिक्रिया दिनुहोस

Loading...