राष्ट्रव्यापी खुला ब्याडमिन्टन चैत ९ देखि

काठमाडौं (खेलदैनिक) । भक्तपुर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा प्रथम राष्ट्रव्यापी भक्तपुर खुला ब्याडमिन्टन प्रतियोगिता चैत ९ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा सातै प्रदेशका जिल्ला र तीन विभागीय टोली (आर्मी\प्रहरी\एपीएफ) बाट करिब २ सय खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष राजेन्द्रप्रसाद प्रजापतिले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

भक्तपुरको लिवालिस्थित कभर्डहलमा हुने प्रतियोगितामा ६ स्पर्धा समावेश छन् । सबैमा नगद पुरस्कार राखिएको छ । यु–१५ पुरुष÷महिला सिंगल्समा शीर्ष स्थान हात पार्नेले क्रमशः १५ हजार, १० हजार र ७ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्ने छन् । पुरुष÷महिला सिंगल्सका विजेताले ३५ हजार, उपविजेताले २० हजार र तेश्रोले १२ हजार ५ सयका दरले नगद पुरस्कार हात पार्ने छन् । भेट्रान ४५ वर्षमाथि डबल्स र पुरुष डबल्समा पहिलो हुनेलाई ३० हजार, दोश्रोलाई १५ हजार र तेश्रोलाई ७ हजार ५ सय नगदबाट पुरस्कृत गरिने छ ।

प्रतियोगिताको उद्देश्यमाथि प्रकाश पार्दै अध्यक्ष प्रजापतिले भने– ‘राष्ट्रिय÷अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न, आपसी सम्बन्ध र भाइचारा विकास गर्न, खेलाडीलाई शारीरिक एवं मानसिक रुपमा स्वस्थ राख्न, खेलाडीलाई कुलत र दूव्र्यसनबाट टाढा राख्न, कोरोना भाइरसका कारण प्रभावित आन्तरिक पर्यटनलाई उकास्न र खेलप्रति नयाँ पुस्ताको आकर्षण बढाउन प्रतियोगिता आयोजनाको मुख्य उद्देश्य हो ।’

आयोजकका अनुसार चारदिने प्रतियोगिता सञ्चालन गर्न करिब १६ लाख ८६ हजार ५ सय रुपैयाँ खर्च हुने छ । आयोजक संघका प्रथम उपाध्यक्ष नवीन प्रजापतिलाई प्रतियोगिता संयोजकको जिम्मेवारी दिइएको छ । त्यस्तै प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न विभिन्न उसमितिहरु पनि गठन गरिएको छ । जसअन्तर्गत अतिथि सत्कारमा सुरेन्द्र प्रजापति, पुरस्कारमा सविन ढुंगेल, प्राविधिकमा चन्दन कोजू, खेलस्थलमा गणेशराम मुस्याख्व र स्वयंसेवकमा राधेश्याम मचामसी संयोजक तोकिएका छन् ।

नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले प्रतियोगितामा संघको प्राविधिक सहयोग रहने जानकारी दिदै खेल सामाग्री उपलब्ध गराउने विषयमा पनि कुराकानी भइरहेको बताए । उनले खेलाडीको वरीयता निर्धारणमा पनि प्रतियोगिताले मान्यता पाउने बताउदै स्थापनाकालदेखि भक्तपुर जिल्ला ब्याडमिन्टनले खेलको विकासमा चलायमान रहँदै योगदान पुर्याइरहेको धारणा व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...