दीपेश र प्रिन्स उपाधीका लागि भिड्ने

काठमाडौं (खेलदैनिक) । एपिएफका दिपेश सिंह धामी र सिल्क ग्रुपका प्रिन्स दाहाल प्रथम खुल्ला साईनो मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०७७ को उपाधी निकट पुगेका छन् ।

राष्ट्रिय च्याम्पियन दिपेशले फाईनल प्रवेश गर्ने क्रममा सेनाका रुकेश महर्जन माथि २१।१४, २१।१७ को जित निकाले भने बिश्व जुनियरको बरियतामा तेश्रो नम्बरमा रहेका प्रिनसले प्रतियोगितामा दोश्रो बरियता पाएका पुलिसका बिष्णु कटुवाल माथि २१।१५, २१।१२ को जित निकाले ।

शनिबार साङ्गलास्थित साईनो स्पोर्टस् हलमा भएको प्रतियोगितामा दिपेशले सेनाका रुकेश महर्जन माथि जित निकाल्दै उपाधीका लागि प्रिन्स संगको भेट पक्का गरेका हुन् । प्रिन्सले पुलिसका बिष्णु कटुवाललाई ले पराजित गर्दै फाईनल प्रवेश गरेका हुन् ।

साईनो स्पोर्टस् हलको आयोजना तथा तारकेश्वर नगरपालिकाको प्रायोजनामा भएको प्रतियोगिताको महिला एकलतर्फ बिभागिय टोली त्रिभुवन आर्मी क्लबका अमिता गिरी र अनुमाया राईले उपाधीका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । अमिताले धादिङ्गकी तारा आलेलाई २१।९, २१।४ ले र राईले एपिएफकी शोभा गौचनलाई २१।८, २१।१२ ले पराजित गर्दै फाईनल यात्र तय गरेका हुन् ।

पुरुष युगल तर्फ हिमालय क्लबका बिशाल बस्नेत र झापाका प्रनिश सिंह ठकुरी फाईनल प्रवेश गरे । उक्त जोडीले सूर्खेतका नरेन्द्र बम र चण्डोलका शिव थापाको जोडीलाई २१।१६, २१।१२ ले पराजित गर्दै उपाधीका लागि आयोजक साईनोको अभिषेक बोस र सुजन थापाको जोडी संगको भेट पक्का गरे । बोस र थापाको जोडीले गण्डकी ब्याडमिन्टन क्लबका सनम खपाङ्गी र हिरा राईको जोडीलाई २१।१७, २१।१३ ले पराजित गरे ।

पुरुष युगल ४५ को प्रतिस्पर्धामा जेष्ट ब्याडमिन्टन एकेडेमीका श्याम पराजुली र नविन बाबु श्रेष्ठको जोडी जित निकाल्दै फाईनल प्रवेश गरे । उक्त जोडीले युनिक स्पोर्टस्का अनिल कुमार लाखे र पाल्पाका महेश बज्राचार्यको जोडीलाई २१।१३, २१।१९ ले पराजित गरे ।

अर्को प्रतिस्पर्धामा पर्फेक्ट फिटनेश क्लबका पूर्ण हरि होना र संजय कपालीको जोडीले ललितपुरका सुमन महर्जन र सुनिल मान शाक्यको जोडीलाई २१।९, २१।१३ ले पराजित गर्दै उपाधीका लागि जेष्टका श्याम र नविनको जोडी संग प्रतिस्पर्धा गर्ने भएका छन् ।

पुरुष युगल बी तर्फको प्रतिस्पर्धामा सूर्यदर्शनका दीपक राना र संजय श्रेष्ठको जोडीले सेनाका हिमाल चन्द र सन्तोष पनेरुको जोडी माथि १५।२१, २१।१८, २१।१८ को जित निकाल्दै फाईनल प्रवेश गरे । यस्तै अर्को खेलमा गण्डकीका तिलक छन्त्याल र हिरा राईको जोडीले चितवन ब्याडमिन्टन संघका साजकुमार गुरुङ्ग र साईनोका सुजन थापाको जोडीलाई २१।१९, १९।२१, २२।२० ले पराजित गरे ।

पुरुष युगल सी तर्फको खेलमा टोखा युग क्लबका क्षितीज खनाल र अमन महर्जन तथा किर्तिपुरका दिप्रिस मुन बज्राचार्य र निखिल भट्टको जोडी फाईनल प्रवेश गरेका छन् । खनाल र महर्जनको जोडीले बुटवलका किरण बिष्ट र चितवन जिल्ला ब्याडमिन्टन संघका राजकुमार गुरुङ्गको जोडीलाई १५।२१, २१।१०, २१।१७ ले तथा दिप्रिस र निखिलको जोडीले गोकर्णेश्वरका लोक बहादुर लामा र गणेश श्रेष्ठको जोडीलाई २१।१५, २१।१७ को सहज जित निकाले ।


प्रतिक्रिया दिनुहोस

Loading...