प्रेसिडेन्ट कपमा प्रिन्सको विजयी सुरुवात

काठमाडौं (खेलदैनिक) । दुवई ईन्टरनेशनल सिरिजका विजेता ब्याडमिन्टनका स्टार खेलाडी प्रिन्स दाहालले प्रथम प्रेसिडेन्ट कप नेपाल जुनियर ईन्टरनेशनल सिरिजमा विजयी सुरुवात गरेका छन् ।

बुधबारदेखि सुरु भएको प्रतियोगितामा दाहालले भारतका आर. बिकास प्रभुमाथि २१–१५, ७–२१, २१–१४ को जित निकाल्दै पुरुष एकलतर्फ सेमिफाईनल यात्रा तय गर्न सफल भए । नरेन्द्र बमले भने भारतका नितिन कुमारबाट वाक ओभर प्राप्त गरे ।

यु – १९ को मात्र प्रतिस्पर्धा रहेको प्रतियोगितामा प्रिन्सले जित निकाल्दै गर्दा अन्य नेपाली खेलाडीहरुले भने उनलाई पछ्याउन सकेनन् । पुरुष एकलतर्फ अर्को प्रतिस्पर्धामा जे.बि. साउद भारतका खेलाडी शिभम कुमार मिश्रसंग २१–१६, २१–११ ले पराजित भए ।

त्यस्तै पराजयलाई निरन्तरता दिंदै प्रियान्शु सिंह क्षेत्री श्रीलङ्काका दुमिन्दु अवेविक्रमा संग २१–१३, २१–१४ ले, पेम्बा शेर्पा श्रीलङ्काकै दिगायु कहातापितियासंग १७–२१, २१–८ र २२–२० को प्रतिस्पर्धात्मक खेलमा पराजित भए ।

त्यसैगरी गोकुल जोरा भारतका अभिन बशिष्ठसंग २१–९, २१–९ को समान अन्तरले तथा अमृत चौधरी भारतका आयान रशिद संग २१–८, २१–७ को सोझो सेटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिए ।

दशरथ रङ्गशालास्थित कभर्डहलमा भएको प्रतियोगिताको महिला एकलतर्फ पनि नेपाली खेलाडीहरुले पहिलो चरण पार गर्न सकेनन् । प्रसुना खत्री मलेसियाकी श्रन्या कबिलान संग २१–१०, २१–९ ले तथा बिष्णा बिष्ट भारतकी अनुपमा उपाध्यायसंग २१–४, २१–६ ले पराजित हुन पुगे ।

प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार बिश्वकर्माले एक कार्यक्रमविच पानसमा द्विप प्रज्वलन गरि उद्घाटन गरेका थिए । सो अवसरमा नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले मन्त्री बिश्वकर्मालाई मायाको चिनो प्रदान गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...