उपाधिका लागि नेपाल र भारत भिड्ने

काठमाडौं (खेलदैनिक) । नेपाल र भारत काठमाडौंमा जारी दक्षिण एशियाली यु–२१ ब्याडमिन्टन च्याम्पियनसिपको मिक्स टिम ईभेन्ट्समा उपाधी नजिक पुगेका छन् ।

नेपालले सेमिफाईनलमा बंगलादेशलाई ३–० ले हराउँदै फाइनल स्थान सुरक्षित गरेको हो । नेपालका नविन श्रेष्ठले पुरुष एकलमा बंगलादेशका गौरव सिंहलाई २१–१३, १८–२१ र २१–१८ ले पराजित गरे ।

यस्तै महिला तर्फ रशिला महर्जनले बंगलादेशकी फारविन विन्ते ईमडाडलाई २१–८, २१–५ ले तथा नविन श्रेष्ठ र प्रिन्स दाहालको जोडीले बंगलादेशका गौरव सिंह र मंगल सिंहको जोडीलाई २१–१५, २१–१६ ले पराजित गरेका हुन् ।

अव उपाधीका लागि नेपालले भारतको सामना गर्ने भएको छ । यस अघि नेपालले मालदिभ्सलाई ४–१ ले पराजित गर्दै समूह बीको विजेता हुदै सेमिफाइनलमा बंगलादेशको सामना गरेको थियो । नेपाल यस स्पर्धामा अघिल्लो संस्करणको उप–विजेता टिम समेत हो ।

त्यसैगरी अर्को सेमिफाईनल भिडन्तमा भारतले श्रीलंकालाई समान ३–० ले पराजित गर्दै फाईनलमा नेपालसँगको भिडन्त पक्का गरेको छ । भारतले पुरुष एकलमा प्रियान्सु रजावतले श्रीलंकाका रन्थुस्का सासिन्धुलाई २३–२५, २१–१२ र २१–१७ ले हराए ।

यस्तै महिला एकलमा भारतकी मालविका बंसोदले श्रीलङ्काकी दिल्मी दियासलाई २१–१२, २१–१४ ले तथा पुरुष युगलमा भारतका बिष्णुबर्दन गौड र ध्रुव रावतको जोडीले श्रीलङ्काका चामथ दियास र चिराथ ईलुपेरुमाचीको जोडीलाई १९–२१, २१–९ र २१–१० ले पराजित गर्दै फाईनल यात्रा तय गरेको हो । भारत अघिल्लो संस्करणको विजेता हो ।

मिक्स टिम ईभेन्ट्सको फाईनल बिहीबार अपरान्ह २ ः ०० बजे हुने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...