नेपालका दिपेश र पाकिस्तानकी सेहजाद च्याम्पियन

अन्नपूर्ण कर्पोरेट अन्तर्राष्ट्रिय ब्याडमिन्टनका पदक विजेता सामूहिक तस्वीर खिचाउदै ।

काठमाडौं (खेलदैनिक) । एपीएफ क्लबका दिपेश धामीले अन्नपूर्ण पोस्ट् अन्तर्राष्ट्रिय कर्पाेरेट ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फको उपाधि जितेका छन् । महिला एकलतर्फको उपाधि भने पाकिस्तानकी सेहजाद माहुरले जितिन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा शनिबार भएको फाइनल खेलमा सिल्क ग्रुपका प्रिन्स दाहाललाई २१–११, २१–१० को सोझो सेटमा पराजित गर्दै दिपेशले उपाधि हात पारेका हुन् ।

नेपालको राष्ट्रिय टोलीबाट नियमित रूपमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै आएका दिपेशले प्रिन्स विरुद्धको खेलमा सुरुदेखि नै बलियो पकड बनाएका थिए । अन्नपूर्ण पोस्ट् अन्तर्राष्ट्रिय कर्पाेरेट ब्याडमिन्टन प्रतियोगितामा पुरुष एकलतर्फ दिपेशले जितेको यो दोस्रो उपाधि हो । दिपेशले यसअघि पहिलो संस्करणमा पनि उपाधि जितेका थिए ।

यसैगरी महिला एकलतर्फ भने पाकिस्तानकी सेहजादले फाइनलमा नेपालकी रसिला महर्जनलाई पराजित गर्दै उपाधि चुमेकी हुन् । त्रिभुवन आर्मी क्लबकी रसिलालाई सेहजादले २१–१५, २१–१० को सेटमा पराजित गरिन् । शुक्रबार भएको सेमिफाइनल खेलमा नेपालकी पहिलो वरीयताप्राप्त खेलाडी नङ्सल तामाङलाई पराजित गर्दै फाइनलमा पुगेकी १४ वर्षीया रसिला उपाधि भिडन्तमा भने अनुभवमा पछि परिन् । पाकिस्तानी खेलाडीले रसिलाको एकपछि अर्काे गल्ती पत्ता लगाउँदै नियमित अंक जोडेकी थिइन् ।

पुरुष एकलतर्फ सेमिफाइनलमा पराजित भएका बंगलादेशका मोहम्मद सलमान खान र त्रिभुवन आर्मी क्लबका रुकेश महर्जन तथा महिला एकलतर्फ त्रिभुवन आर्मी क्लबका नङ्सल तामाङ र अमिता गिरी तेस्रो भएका छन् ।

यसैगरी यू–१९ पुरुष एकल स्पर्धामा सिल्क ग्रुपका प्रिन्स दाहाल र महिला एकल स्पर्धामा त्रिभुवन आर्मी क्लबकी रसिला महर्जनले उपाधि जितेका छन् । प्रिन्सले फाइनलमा त्रिभुवन आर्मी क्लबका प्रफूल महर्जनलाई २१–१५, २१–१९ को सोझो सेटमा पराजित गरे ।

खुलातर्फ पुरुष एकल स्पर्धाको फाइनलमा एपीएफ क्लबका दिपेश धामीसँग पराजित भएका प्रिन्सले यू–१९ स्पर्धामा भने सशक्त प्रदर्शन गर्दै उपाधि हात पारे । यसैगरी महिला एकल तर्फको उपाधि भिडन्तमा रसिलाले नेपाल पुलिस क्लबकी जेसिका गुरुङलाई २१–१९, २१–१९ को सोझो सेटमा पराजित गरिन् । रसिलाले जेसिकासँग पुष्पलाल स्मृति ब्याडमिन्टन प्रतियोगितामा बेहोरेको पराजयको बदलासमेत लिइन् । पुष्पलाल ब्याडमिन्टन प्रतियोगिताको यू–१९ र महिला एकल दुवै स्पर्धाको उपाधि जित्ने क्रममा जेसिकाले रसिलालाई नै पराजित गरेकी थिइन् ।

यू–१९ स्पर्धाको महिला एकलतर्फ प्रदेश नम्बर १ की नीता लम्साल र कञ्चनपुरकी रञ्जना भट्ट तथा पुरुष एकलतर्फ त्रिभुवन आर्मी क्लबका पबिन लिङ्थेप र रुकेश महर्जन संयुक्त रूपमा तेस्रो भए ।

यस्तै मिक्स डबल्सतर्फको उपाधि एपीएफ क्लबका दिपेश धामी र पूजा श्रेष्ठको जोडीले जितेको छ । त्रिभुवन आर्मी क्लबका नङ्सल तामाङ र प्रफूल महर्जनको जोडीलाई २१–२०, २१–१७ को सोझो सेटमा पराजित गर्दै दिपेश र पूजाको जोडीले उपाधि हात पारेको हो । यो स्पर्धामा त्रिभुवन आर्मी क्लबका अमिता गिरी र सुरोज महर्जनको जोडी तथा भोजपुरकी सीता राई र एमआईबीएलका नीरविक्रम देवकोटाको जोडी तेस्रो भए ।

पुरुष डबल्सतर्फको फाइनलमा भने एपीएफ क्लबका दिपेश र बिजित थापामगरको जोडी भारतका जुम्ल्याहा दाजुभाइ रञ्जन र अञ्जन गुरागोहईको जोडीसँग २१–१९, २१–१६ को सोझो सेटमा पराजित भयो । गत वर्ष फाइनलमा पाकिस्तानी खेलाडीसँग पराजित भएपछि उपाधिबाट चुकेका गुरागोहई दाजुभाइ यसपटक भने उपाधि जित्न सफल भए ।

‘दिपेश र बिजितसँग हामीले गत वर्ष पनि खेलेका हौं । गत वर्ष हामीले उनीहरूलाई सेमिफाइनलमै पराजित गरेका थियौं’, उपाधि जितेपछि रञ्जनले भने, पुरुष डबल्सतर्फ प्रदेश नम्बर ४ का विशाल बस्नेत र विधान अधिकारीको जोडी तथा बाँकेका रियाज अन्सारी र इर्फान अन्सारीको जोडी तेस्रो भए ।

यसैगरी एक्जुकेटिभ पुरुष एकलतर्फको उपाधि जेष्ट ब्याडमिन्टन एकेडेमीका सुनिल जोशीले जितेका छन् । फाइनलमा उनले कामना सेवाका विशाल खड्कालाई २१–१५, २१–११ को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेका हुन् । एक्जुकेटिभ स्पर्धाको पुरुष डबल्सतर्फ भने आशीर्वादका राम राई र विमल श्रेष्ठको जोडीले उपाधि जितेको छ । राम र विमलको जोडीले फाइनलमा कामनाका विशाल बस्नेत र विशाल खड्काको जोडीमाथि २१–१७, २१–२३, २१–१५ अंकको प्रतिस्पर्धात्मक जित हासिल गर्यो ।

एक्जुकेटिभ एकलतर्फ राइजिङ सनका विश्वास नेपाल र स्लेकका गणेश रायमाझी तेस्रो भए । डबल्सतर्फ जेष्टका सुनील जोशी र ओडीसीका रोमन बानियाँको जोडी तथा ईशा एन्ड इशिकाका आकाश छन्त्याल र अभिषेक गुरुङको जोडी तेस्रो बने ।

श्निबार नै भएको कर्पोरेट स्पर्धाको पुरुष एकल र युगलतर्फ दुवै उपाधि महालक्ष्मी पेन्ट्सका खेलाडीले जितेका छन् । पुरुष एकलतर्फ महालक्ष्मीका विकास महर्जन तथा डबल्सतर्फ विकास र प्रदीप महर्जनको जोडीले उपाधि जितेका हुन् । एकलतर्फको फाइनलमा विकासले नारायणी मिल्कका अभिषेक बोसलाई २१–१२, २१–१६ को सोझो सेटमा पराजित गरे ।

युगलतर्फको उपाधि भिडन्तमा भने विकास र प्रदीपको जोडीले महालक्ष्मी पेन्ट्सकै भुवन श्रेष्ठ र रदीप महर्जनको जोडीलाई २१–१९, २१–१३ अंकले पराजित गरे । कर्पाेरेट स्पर्धाको एकलतर्फ एपेस इन्टरनेसनलका अखिल श्रेष्ठ र बीएन्डबीका बालमुकुन्द ढुंगाना संयुक्त रूपमा तेस्रो भए । कर्पाेरेट डबल्सतर्फ आईपीपीका आदर्श विष्ट र सुवास उलकको जोडी तथा जलेवाका रुद्रबहादुर थिङ र एपेस इन्टरनेसनलका अखिल श्रेष्ठको जोडी तेस्रो भए ।

जुनियरतर्फ महिला र पुरुष एकल तर्फका विजेताबाहेक अन्य स्पर्धाका विजेताले दुई तोला, उपविजेताले एक तोला र तेस्रो हुने खेलाडीले आधा तोला सुन पुरस्कार प्राप्त गरे । जुनियरतर्फ महिला तथा पुरुष सिंगल्सका विजेताले भने एक तोला, दोस्रो हुनेले आधा तोला र तेस्रो स्थान हासिल गर्नेले चार आना सुन पुरस्कार प्रदान गरिएको थियो । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...