अन्नपूर्ण पोष्ट इन्टरनेसनल कर्पोरेट ब्याडमिन्टन शुरु

काठमाडौं (खेलदैनिक) । अन्नपूर्ण पोस्ट् इन्टरनेसनल कर्पोरेट ब्याडमिन्टन प्रतियोगिता राजधानीमा शनिबारदेखि शुरु भएको छ ।

प्रतियोगिताको चौथो संस्करणको पहिलो दिन शनिबार ५४ खेलहरु सम्पन्न भएका छन् । हलचोकस्थित सशस्त्र प्रहरी बल मुख्यालयको कभर्डहलमा जारी प्रतियोगितामा पहिलो दिन चार विधाका खेल सञ्चालन भए ।

पुरुष एकल स्पर्धामा राष्ट्रिय खेलाडी सशस्त्र प्रहरी बलका सुदिप सेढाइँले विजयी सुरुआत गरेका छन् । उनले भुटानका हरि प्रसादलाई २१–८, २१–६ को सोझो सेटमा पराजित गरे ।

पुरुष एकलतर्फकै अन्य खेलमा भारतका रञ्जन बुर्गोइनले भुटानका बाजिन वाङ्चुकलाई २१–१३, २१–११ ले हराए भने श्रीलंकाका रन्ठुस्का करुणाथिलकेले भोजपुरका विशाल मोक्तानलाई २१–६, २१–८ ले पाखा लगाए । यसैगरी रजिन खड्काले प्रेमध्वज लामामाथि २१–१५, २१–६ को जित हात पारे । बाँकेका शिव थापा, भुटानका उग्योन चोयदा र कैलालीका देवराज रानाले भने आआफ्ना प्रतिद्वन्द्वीबाट वाकओभर पाए ।

यसैगरी पुरुष एक्जुकेटिभ डबल्स स्पर्धामा रामकुमार प्रजापति र चेतबहादुर थापाको जोडीले सफलता हात पा¥यो । उक्त जोडीले पहिलो चरणको खेलमा रिकेश श्रेष्ठ र रमनविक्रम शाहको जोडीलाई २–१ सेटमा हरायो । पुरुष एक्जुकेटिभ डबल्समै दिपु मगर र बसन्त थेबे, सुदिप बुढाथोकी र खगेन्द्र रेग्मी, धनश्याम भट्ट र जेबी चन्द, बिरु केसी र राजकुमार गुरुङ, हरिकृष्ण शर्मा र सुरेन्द्रसिंह कार्की तथा पंकज शर्मा र राजन सिग्देलको जोडीले पनि सफलता हात पारे ।

सोही स्पर्धाको अन्य खेलमा सफलता हात पार्दै अनिल राई र नरेन्द्रबहादुर बस्नेत, भुवन श्रेष्ठ र श्याम महर्जन, विकेश श्रेष्ठ र निरज गुरागाई, विकेश महर्जन र प्रदीप महर्जन, नवराज आचार्य र हरिबहादुर सिटौला, प्रदीप महर्जन र शान्त डंगोल, जीवन थापा र दीलिप गौचन तथा नविनबाबु श्रेष्ठ र सञ्जिव श्रेष्ठको जोडी पनि अघिल्लो चरणमा प्रवेश गरे ।

यसैगरी पंकज केसी र विवस नेपाल, श्यामबहादुर महर्जन र नविन महर्जन, डम्बर पुन मानबहादुर बुढाथोकी, विक्रम महर्जन र नहकुल श्रेष्ठ, रविन श्रेष्ठ र सन्तोष श्रेष्ठ, शम्भु भट्टराई डीबी रायमाझी, सन्तोष भट्टराई र दिनेश राई, सुभाष उलक र अरुण बलामी, फिरोज केसी र विजय बस्नेत तथा सुरज तन्डुकार र विजेन्द्रलाल श्रेष्ठको जोडीले पनि सफलता हात पारे ।

असार २१ गतेसम्म चल्ने प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार विष्टले उद्घाटन गरे । नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा सञ्चालित प्रतियोगितामा नेपालसँगै भारत, पाकिस्तान, श्रीलंका र भुटानका खेलाडीको सहभागिता रहेको छ । छिमेकी देश भुटानबाट सात पुरुष र तीन महिला गरी १० खेलाडी सहभागी छन् । यसैगरी पाकिस्तानबाट तीनजना राष्ट्रिय खेलाडीले भाग लिएका छन् । श्रीलंकाबाट एक पुरुष र एक महिला तथा भारतबाट तीन पुरुष र एकजना महिला खेलाडी प्रतिस्पर्धा गर्नेछन् । स्वदेशी र विदेशी गरी कूल तीनसय २४ खेलाडीले विभिन्न ६ स्पर्धामा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

यसअघि धनगढीमा वैशाख ९ देखि ११ गतेसम्म, नेपालगन्ज र बुटवलमा वैशाख १७ देखि १९ गतेसम्म, पोखरामा वैशाख २१ देखि २३ गतेसम्म तथा इटहरीमा वैशाख २६ देखि २८ गतेसम्म खेलाडी छनोट प्रतियोगिता सम्पन्न भएको थियो । ती क्षेत्रबाट छनोट भएका विजेता र उपविजेता खेलाडीले फाइनल चरणको यस प्रतियोगितामा पुरुष एकल खुला, महिला एकल खुला र पुरुष डबल्स खुला स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । यी स्पर्धामा वरीयता प्राप्त चर्चित राष्ट्रिय खेलाडीको समेत सहभागिता रहेको छ ।

यसैगरी प्रतियोगितामा कर्पोरेट डबल्स, पुरुष एक्जुकेटिभ एकल र एक्जुकेटिभ डबल्स स्पर्धा पनि समावेश गरिएको छ । कर्पोरेट डबल्सतर्फ विभिन्न कर्पोरेट हाउसका म्यानेजर तहका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । एक्जुकेटिभ डबल्समा म्यानेजरभन्दा मुनिका खेलाडीको सहभागिता रहनेछ । प्रत्येक विधाको विजेतालाई दुई तोला, उपविजेतालाई एक तोला र तेस्रो हुने खेलाडीलाई आधा तोला सुनको पदक प्रदान गरिनेछ । प्रतियोगिता अन्तर्गत पहिलो दिन ५४ वटा खेल सम्पन्न भएका छन् । प्रतियोगिता अन्तर्गत दोस्रो दिन ५९, तेस्रो दिन ४८ र चौथो दिन ३६ र पाँचौं तथा अन्तिम दिन सबै स्पर्धाको फाइनल खेल हुनेछ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...