अन्तर्राष्ट्रिय कर्पोरेट ब्याडमिन्टन शनिबारदेखि

काठमाडौं (खेलदैनिक) । अन्नपूर्ण पोस्ट् इन्टरनेसनल कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताको चौथो संस्करण शनिबारदेखि सुरु हुँदैछ । प्रतियोगिता हलचोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा रहेको कभर्डहलमा हुनेछ । तेस्रो संस्करणसम्म राष्ट्रिय स्तरमा सञ्चालित अन्नपूर्ण पोस्ट् कर्पोरेट ब्याडमिन्टनले यसपटकदेखि अन्तर्राष्ट्रिय स्वरुप ग्रहण गरेको छ ।

नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले चौथो संस्करण विगतको तुलनामा अझ भब्य रुपमा सम्पन्न हुने धारणा व्यक्त गरे । प्रतियोगितालाई नेपाल ब्याडमिन्टन संघले प्राविधिक सहयोग गरेको छ । प्रतियोगितामा नेपालसँगै भारत, पाकिस्तान, श्रीलंका र भुटान गरी पाँच राष्ट्रका स्तरीय खेलाडीको सहभागिता रहनेछ ।

प्रतियोगिता अन्नपूर्ण मिडिया नेटवर्कले आयोजना गरेको हो । ‘विभिन्न देशका खेलाडी नेपालमा आएर खेल्दा हाम्रो देशको सांस्कृतिक आदानप्रदानसँगै अन्तर्राष्ट्रिय भाइचाराको सम्बन्ध पनि बढ्नेछ । नेपालका विभिन्न क्षेत्रबाट छनोट भएका खेलाडीले अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता खेल्न पाउनु आफैंमा महत्वपूर्ण उपलब्धि हुनेछ’, श्रेष्ठले भने ।

असार १७ देखि २१ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी अन्नपूर्ण मिडिया नेटवर्कका ब्रान्ड म्यानेजर श्याम मालीले दिए । ‘प्रतियोगितालाई विगतको तुलनामा सहभागिता र स्वरूपका दृष्टिले अझ बृहत् बनाइएको छ ।

यसपटकदेखि प्रतियोगितालाई अन्तर्राष्ट्रिय स्वरूप प्रदान गरेका छौं’, मालीले भने, ‘प्रतियोगितामा विदेशी खेलाडीसँग देशभरबाट छनोट भएर आएका विजेता र उपविजेता खेलाडीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।’

अन्नपूर्ण पोस्ट्को आयोजनामा यसअघि धनगढीमा वैशाख ९ देखि ११ गतेसम्म, नेपालगन्ज र बुटवलमा वैशाख १७ देखि १९ गतेसम्म, पोखरामा वैशाख २१ देखि २३ गतेसम्म तथा इटहरीमा वैशाख २६ देखि २८ गतेसम्म खेलाडी छनोट प्रतियोगिता सम्पन्न भएको थियो ।

ती क्षेत्रबाट छनोट भएका विजेता र उपविजेता खेलाडीले अन्तिम चरणको प्रतियोगितामा पुरुष एकल खुला, महिला एकल खुला र पुरुष डबल्स खुला स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । यी स्पर्धामा वरीयता प्राप्त चर्चित राष्ट्रिय खेलाडीले समेत प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा पुरुष एकल खुला, महिला एकल खुला, पुरुष डबल्स खुला, कर्पोरेट डबल्स, पुरुष एक्जुकेटिभ एकल र एक्जुकेटिभ डबल्स गरी ६ वटा स्पर्धा समावेश गरिएको छ ।

कर्पोरेट डबल्सतर्फ विभिन्न कर्पोरेट हाउसका म्यानेजर तहका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । एक्जुकेटिभ डबल्समा म्यानेजरभन्दा मुनिका खेलाडीको सहभागिता रहनेछ । प्रत्येक विधाको विजेतालाई दुई तोला, उपविजेतालाई एक तोला र तेस्रो हुने खेलाडीलाई आधा तोला सुनको पदक प्रदान गरिनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...