युवराज र स्वागतालाई स्वर्ण

काठमाडौं (खेलदैनिक) । नेपाल एपीएफ क्लबका युवराज विक र भक्तपुरकी स्वागता खाइजु ‘आइ लभ चितवन’ एलटीके ट्रयाक एन्ड फिल्डको जुनियर ६० मिटर दौडमा पहिलो भएका छन् । पुरुषमा युवराजले ७.१ सेकेन्ड तथा महिलामा स्वागताले ८.६ सेकेन्डमा निर्धारित दूरी पूरा गरे ।

सिनियरतर्फ ४ सय मिटर दौडको पुरुषमा एपीएफका शिवराज पार्की तथा महिलामा एपीएफकै रमिताकुमारी थारु पहिलो भए । सिनियरको ६० मिटर दौडको पुरुषमा नवलपरासीका सलिम देवान तथा महिलामा भक्तपुरकी प्रकृति सुवालले स्वर्ण जिते ।

सिनियरको ८ सय मिटर दौडको पुरुषमा उदयपुरका तेजबहादुर कार्की र महिलामा एपीएफकी आशा रावत तथा सटपुटको पुरुषमा चितवनका अबइ तामाङ र महिलामा बर्दियाकी संगिता अधिकारी पहिलो बने । जुनियरतर्फ सटपुटको पुरुषमा काभ्रेका समिर शाह र महिलामा काभ्रेकै कल्पना जोशीले शीर्ष स्थान हात पारे ।

लङजम्पको जुनियर पुरुषमा कपिलवस्तुका सुदिप थारु र महिलामा बर्दियाकी रेसु थारु तथा सिनियर पुरुषमा नवलपरासीका सलिम देवान र महिलामा एपीएफकी रन्जिता राईले स्वर्ण हात पारे ।

लेक ट्वान्टी थाउजन्ड फार्म र रिट्रिट प्रा.लि. को आयोजना तथा एथलेटिक्स परिवार, नेपालको संयोजनमा भएको प्रतियोगिताको जुनियर २ सय मिटर दौडको पुरुषमा एपीएफका एपीएफका युवराज विक र महिलामा बर्दियाकी रेसु थारु पहिलो भए ।

सिनियर २ सय मिटर दौडको पुरुषमा एपीएफका शिवराज पार्की र महिलामा एपीएफकै रमिताकुमारी थारु शीर्ष स्थानमा रहे । जुनियर ८ सय मिटर दौडको पुरुषमा बाँकेका सहनचन्द्र शाह र महिलामा झापाकी सुस्मिता बान्तवा राई पहिलो भए ।


प्रतिक्रिया दिनुहोस

Loading...