सरुलाई दोहोरो स्वर्ण

विजेश्वरी ज्ञान मन्दिरकी सरु खवासले नवौं काठमाडौं जिल्लाव्यापी राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको एथलेटिक्सतर्फ शुक्रबार दुई स्वर्ण जितेकी छन् ।

काठमाडौं जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगितामा सरुले छात्रा १ सय मिटर दौड र लङजम्पमा स्वर्ण हात पारिन् । सरुले १ सय मिटर दूरी १४.२ सेकेन्डमा पूरा गरिन् । लङजम्पमा सरुले ४.२८ मिटर हाम फालिन् ।

छात्र १ सय मिटर दौडमा बुढानीलकण्ठका अभिषेक खड्का पहिलो भए । उनले निर्धारित दूरी तय गर्न १२.४ सेकेन्ड समय खर्चे । लङजम्पमा सेक्रेड हर्टका सरोज महर्जन ५.४८ मिटरसाथ पहिलो बने ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको छात्र ४ सय मिटर दौडमा नेपाल एपीएफ स्कुलका श्रृजन दाहालले स्वर्ण जिते । उनले ५७.७ सेकेन्ड समय निकाले । सोही स्पर्धाको छात्रामा विजेश्वरीकी सुनीता श्रेष्ठ ७०.७ सेकेन्ड समयमा शीर्ष स्थानमा रहिन् ।

छात्रको १ हजार ५ सय मिटर दौडमा पहिलो भएका न्यु अरुणोदयका जगत नेपालीले ४ मिनेट २७ सेकेन्ड समय लगाए । त्यसै स्पर्धाको छात्रामा सीतापाइला उमाविकी भूमि बुढा मगर पहिलो भइन् । भूमिले ५ मिनेट ४३.६ सेकेन्ड समय लगाइन् ।

ज्याभ्लिन थ्रोको छात्रमा रिपु मर्डिनीका आशिष तामाङ तथा छात्रामा विजेश्वरीकी सनिता थापा मगर पहिलो भए । आशिषले ४०.०३ मिटर तथा सनिताले १९.१५ मिटर थ्रो गरे ।

हाइजम्पको छात्रमा नेपाल युवकका अशुमन चौधरी पहिलो भए । उनले १.५७ मिटर उचाईं नाघे । १.३० मिटर नाघ्दै विजेश्वरीकी मेलिना श्रेष्ठले छात्रा स्पर्धामा पहिलो स्थान हात पारिन् ।


प्रतिक्रिया दिनुहोस

Loading...