कांग्रेसद्वारा सागका स्वर्ण विजेता सम्मानित

साग स्वर्ण विजेता खेलाडी अतिथिलगायतसंग सामूहिक तस्वीर खिचाउदै ।

काठमाडौं (खेलदैनिक) । नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागले नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण जित्ने खेलाडीलाई शुक्रबार नगदसहित सम्मान गरेको छ । १३ औं सागमा नेपालले व्यक्तिगत र टिम स्पर्धामा गरी विभिन्न १३ खेलमा एतिहासिक ५१ स्वर्ण जितेको थियो ।

५१ स्वर्णसहित ६० र ९६ कांस्य जित्दै ७ राष्ट्र सहभागी सागमा नेपालले दोश्रो स्थान हासिल गरेको थियो । १३औं सागमा नेपालले हासिल गरेको उपलिब्ध सागकै इतिहासमा अहिलेसम्मकै उत्कृष्ट हो । नेपालमै सन् १९९९ मा भएको आठौं दक्षिण एसियाली खेलकुदमा पनि नेपाल दोश्रो भएको थियो । त्यत्तिखेर नेपालले ३१ स्वर्ण, १० रजत र २४ कांस्य जितेको थियो ।

यसअघि साउन ६ गते विभागले आफ्नो बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा १३औं साग स्वर्ण विजेतालाई १० दिनभित्र नगदसहित सम्मान गर्ने घोषणा गरेको थियो । त्यत्ति बेला व्यक्तिगत स्पर्धाका विजेतालाई सम्मान गर्ने घोषणा गरेपनि टिम स्पर्धाका स्वर्णधारीलाई पनि सम्मान गर्ने विषयमा छलफल गरी निर्णय लिने विभागका प्रमुख मोहनबहादुर बस्नेतले प्रतिबद्धता जनाएका थिए । सोही अनुरुप एकल र टिम स्पर्धाका स्वर्ण विजेतालाई सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा शुक्रबार सम्मान गरिएको हो ।

एक स्वर्ण विजेतालाई १० हजार, दोहोरो स्वर्णलाई १५ हजार र चार स्वर्ण जित्नेलाई २५ हजार नगदसहित प्रशंसा पत्र प्रदान गरिएको थियो । दोहोरो स्वर्ण जित्नेमा गोल्फका सुवास तामाङ, तेक्वान्दोकी आयशा शाक्य र करातेका मन्डेकाजी श्रेष्ठ रहेका छन् । पौडीकी गौरिका सिंहले ४ स्वर्ण जितेकी थिइन् ।

व्यक्तिगत स्पर्धा र टिम स्पर्धाका स्वर्ण विजेतालाई समान १०–१० हजार नगद पुरस्कार प्रदान गरिएको थियो । गौरिका लन्डनमा रहेकाले उनको पुरस्कार नेपाल पौडी संघका अध्यक्ष अशोक वज्राचार्यले ग्रहण गरे । कार्यक्रममा उपस्थित हुन नसकेका खेलाडीको पुरस्कार सम्बन्धित खेलाडीसम्म पुर्याउने व्यवस्था मिलाउने विभागले जनाएको छ ।

नेपाल कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले खेलाडीलाई एक कार्यक्रमबीच पुरस्कृत गरे । सो अवसरमा देउवाले १३ औं सागमा उत्कृष्ट प्रदर्शन गरी नेपालको छवि अन्तर्राष्ट्रिय जगतमा उच्च बनाएकोमा खेलाडीको प्रशंसा गरे ।

विभाग प्रमुख बस्नेतले रजत र कांस्य विजेतासंगै प्रशिक्षकलाई पनि क्रमैसंग सम्मान गर्ने प्रतिबद्धता जनाउदै ओलम्पिकमा सहभागी हुने खेलाडी र प्रशिक्षकको नामवली पाए १० दिनभित्र उनीहरुको कोरोना विमा गर्न विभाग तयार रहेको बताए ।

राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त सदस्य–सचिव रमेशकुमार सिलवालले हरेक राजनीतिक पार्टीले खेलकुदलाई महत्व दिने हो भने नेपाली खेलकुदलाई अझ उचाइमा पुर्याउन सहज हुने बताउदै खेलाडीलाई सम्मान गरिदिएकोमा विभागलाई धन्यवाद दिए ।


प्रतिक्रिया दिनुहोस

Loading...