प्रधान सेनापति खुल्ला म्याराथन प्रतियोगिता: प्रहरीका भूमिराजले जिते


माघ २९ / नेपाल प्रहरीका भूमिराज राई ‘प्रधानसेनापति खुल्ला म्याराथन प्रतियोगिता २०७३’ को च्याम्पियन बनेका छन् । महाशिवरात्री तथा सेना दिवसको उपलक्ष्यमा काठमाडौंमा शनिबार भएको निर्धारित ४२.१९५ किलोमिटर दौडमा भूमिराज निर्धारित दुरी २ घण्टा २४ मिनेट १३ सेकेन्डमा पूरा गरे । उनले एक लाख रूपैयाँ हात पारे । सेनाका कृष्ण बस्नेतले २ घन्टा २४ मिनेट १५ सेकेन्डमा दौड पूरा गरि दोस्रो भए र ५० हजार पाए ।

सेनाकै राजन खत्रीले २ घन्टा २५ मिनेट ५० सेकेन्डमा दौड पूरा गरि तेस्रो स्थान हासिल गर्दै २५ हजार रुपैयाँमा चित्त बुझाए ।

२१ किलोमिटर (हाफ म्याराथन) को पुरूषतर्फ सेनाका कल्याण बानियाँ पहिलो, रामजी बस्नेत दोस्रो र राजकुमार बिष्ट तेस्रो भए । यस्तै, उक्त विधाको महिला तर्फ पनि सेनाकै विश्वरुपा बूढा पहिलो र सानुमाया कार्की दोस्रो तथा सशस्त्र प्रहरी बलकी पुष्पा भण्डारी तेस्रो भइन् । उनीहरूले क्रमश: २५, १५ र १० हजार रुपैयाँ पाए ।

विजेताहरूलाई प्रधानसेनापति राजेन्द्र क्षत्रीले मेडल र चेक हस्तान्तरण गरे । प्रतियोगितामा विदेशी सैनिक सहचारी एवं कूटनीतिज्ञसहितको नेपाली सेनाका अधिकृतहरुको १० किमी दौड (महिला/पुरुष), विभिन्न विद्यालयका छात्र/छात्राहरुको ५ किलोमिटर दौड तथा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विदेशी कुटनीतिक पदाधिकारी र निजामति उच्च पदाधिकारीहरु सम्मिलित ५ किलोमिटर वाकाथन समावेश गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...