जुम्लाका बुढालाई नेपालगन्ज म्याराथनको उपाधि

नेपालगन्ज म्याराथनका विजेता सामूहिक तस्वीर खिचाउदै ।

नेपालगन्ज (खेलदैनिक) । विभागीय टोलीका प्रतिस्पर्धीहरुलाई पछि पार्दै जुम्लाका दुर्गाबहादुर बुढाले प्रतिष्ठित तेस्रो नेपालगन्ज म्याराथनको उपाधि जित्न सफल भएका छन् । विभागिय टोलीका खेलाडीलाई झन्डै २२ सेकेन्डपछि पार्दै दुर्गाले उपाधि हात पारेका थिए ।

विजेता बाहेक शीर्ष ८ मा सबै स्थान विभागिय टोलीका खेलाडीले हात पारे । दुर्गाले २ घन्टा २६ मिनेट ५८ सेकेन्डमा दौड पुरा गरेका थिए ।

महिला हाफ म्याराथनको शीर्ष तीनमै विभागका टोलीको वर्चश्व रह्यो । त्रिभुवन आर्मीकी रेसु बस्नेतले हाफ म्याराथन जितिन् । रेसुले १ घन्टा २४ मिनेट ४५ सेकेन्डमा दौड पुरा गरेकी थिइन् ।

आर्मीकै चन्द्रा रावत (१ घन्टा २८ मिनेट ०६ सेकेन्ड) दोस्रो र नेपाल एपिएफ क्लबकी कृष्णश्वरी सिन्तकला (१ घन्टा ३० मिनेट ०७ सेकेन्ड) तेस्रो स्थान हासिल गरिन् ।

म्याराथनमा आर्मीका खडकबहादुर खड्का (२ घन्टा २७ मिनेट २० सेकेन्ड) दोस्रो , एपिएफका गणेशसिंह ठकुरी (२ घन्टा २८ मिनेट ३५ सेकेन्ड) तेस्रो भएका थिए ।

दुर्गाले ५५ हजार रुपैयाँ प्राप्त गरे । दोस्रोले २५ हजार, तेस्रोले १५ रुपैयाँ प्राप्त गरे । चौथो स्थान हासिल गर्नेले १० हजार, पाँचौंले ८ हजार, छैठौंले ७ हजार, सातौंले ६ हजार र आठौंले ५ हजार रुपैयाँ प्राप्त गरे । हाफ म्याराथनमा विजेता रेसुले ३० हजार, द्धितीयले १५ हजार र तृतीयले १० हजार प्राप्त गर्नेछन् ।

हाफ म्याराथनमा शीर्ष छ जना नगदबाट पुरस्कृत हुनेछन् । त्यसमा चौथो स्थान हात पार्नेले ७ हजार, पाँचौंले ६ हजार र छैठौंले ५ हजार पाउनेछन् ।

५ किलोमिटर दौडमा छात्रातर्फ जुम्लाकी राममाया बुढा र छात्रतर्फ नरेश बुढा विजयी भए । रामायाले १९ मिनेट ४२ सेकेन्डमा तथा नरेशले १६ मिनेट ५५ सेकेन्डमा दौड पुरा गरेका थिए ।

छात्रार्फ जुम्लाका विवेक कठायत (१७ मिनेट १५ सेकेन्ड) दोस्रो, बाँकेका अरविन्द क्षत्री (१८ मिनेट ) तेस्रो भएका थिए ।

छात्रामा जुम्लाकी अमृता भण्डारी (२० मिनेट ३३ सेकेन्ड) र सल्यानकी चन्द्रकुमारी घर्ती (२१ मिनेट ५०) तेस्रो स्थान हासिल गरेकी थिइन् ।

ह्विलचियरतर्फ कमल बुढा पहिलो, नन्कु थारु दोस्रो र दीपक दराई तेस्रो भएको थियो । उनीहरुले ५, ३, २ हजार रुपैयाँ प्रदान गरिएको थियो ।

सोही अवसरमा आयोजित नृत्यमा नेपालगन्ज मोडल एकेडेमीका गरिमा चौधरी प्रथम, जयबागेश्वरी दीपेश थापा दोस्रो र ग्रिनपिस स्कुलका प्रिन्सा खड्का तेस्रा भइन् । विजेताले १०, दोस्राले ७ र तेस्रो हुने ५ हजार रुपैयाँ प्राप्त गरे । सबै इभेन्ट्समा गरि ६ सय ५६ भन्दा बढीको सहभागिता रहेको थियो ।

क्रियटिभ्स ह्यान्ड्सको आयोजनामा भएको नेपालगन्ज म्याराथनको उद्घाटन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशवकुमार विष्ट, नेपालगन्ज उप महानगरपालिकाका मेयर धवल शम्सेर राणाले संयुक्त रुपमा गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...