मध्यमाञ्चल लगातार दोश्रोपटक च्याम्पियन

नवौं राष्ट्रपति रनिङ सिल्डमा लगातार दोश्रोपटक च्याम्पियन बन्न सफल मध्यमाञ्चल टोली उपाधिसाथ ।

काठमाडौं (खेलदैनिक) । डिफेन्डिङ च्याम्पियन मध्यमाञ्चलले नवौं राष्ट्रपति रनिङ सिल्ड तथा विद्यालय खेलकुदको उपाधि शनिबार जितेको छ ।

८ खेल समावेश खेलकुदमा मध्यमाञ्चलले एथलेटिक्समा १६७, कबड्डीमा ५६ र भलिबलमा ७० गरी जम्मा २९३ अंक जोड्दै समग्रमा टिम च्याम्पियनको उपाधि रक्षा ग¥यो । उक्त तीन खेल बाहेक कराते, उसु, तेक्वान्दो, क्रिकेट र फुटबलको अंक टिम च्याम्पियनमा गणना गरिदैन ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगितामा पश्चिमाञ्चल २ सय ६४ अंकसाथ दोश्रो भयो । पश्चिमाञ्चलले एथलेटिक्समा १३८, कबड्डीमा ५६ र भलिबलमा ७० अंक ल्यायो । तेश्रो स्थानमा रहेको मध्यपश्चिमाञ्चलले एथलेटिक्समा १७३, कबड्डीमा १४ र भलिबलमा २८ गरी कुल २१५ अंक बटुल्यो । शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः २५ हजार, २० हजार र १५ हजार नगद पुरस्कार प्राप्त गरे ।

गत संस्करणका कीर्तिमानधारी पुरस्कृत :

समापनका अवसरमा राजधानीमै गत वर्ष भएको उक्त प्रतियोगिताको आठौं संस्करणका कीर्तिमानधारीलाई नगदबाट पुरस्कृत गरिएको छ । त्यो वर्ष मध्यमाञ्चलका अजितकुमार यादवले छात्र १ हजार ५ सय र ३ हजार मिटर दौड, मध्यपश्चिमाञ्चलकी मन्जु रावतले छात्रा १ हजार ५ सय मिटर दौड, मध्यपश्चिमाञ्चलकै तिलक विकले छात्र सटपुट तथा पश्चिमाञ्चलकी विपना परियारले छात्र ट्रिपलजम्प र लङजम्पमा कीर्तिमान बनाएका थिए ।

दुई कीर्तिमानका लागि १० हजारका दरले अजित र विपनाले २० हजार रुपैयाँ पाए । बाँकीले जनही १० हजार नगद प्राप्त गरे ।
विजेतालाई राखेपका सदस्य–सचिव केशवकुमार विष्ट, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, मध्यमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष मानदेव हजरा, राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मीनकुमार शर्मालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

निर्वाचन क्षेत्र, जिल्ला र क्षेत्रीय छनोट पूरा गर्दै आयोजना गरिएको यो केन्द्रीय प्रतियोगितामा समावेश सबै खेलमा पाँच विकास क्षेत्रबाट १ सय ४२ का दरले जम्मा ७ सय १० खेलाडी सहभागी थिए ।

एथलेटिक्स : प्रकाशको कीर्तिमान

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको छात्र ४ सय मिटर दौडमा पूर्वाञ्चलका प्रकाश दनुवारले विद्यालयस्तरको नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । निर्धारित दूरी ५०.२० सेकेन्डमा पूरा गर्दै प्रकाश आफ्नो नाममा कीर्तिमान लेखाउन सफल भए । प्रकाशले २०५८ सालमा भएको वीरेन्द्र रनिङ सिल्डमा कृष्ण महतोले बनाएको ५२.८ सेकेन्डको कीर्तिमान भंग गरेका हुन् । २०६५ सालअघि राष्ट्रपति रनिङ सिल्ड वीरेन्द्र रनिङ सिल्डको नाममा सञ्चालन हुँदै आएको थियो । मध्यमाञ्चलका भुवन महतो दोश्रो र पश्चिमाञ्चलका सन्दिप चौधरी तेश्रो भए ।

सोही स्पर्धाको छात्रामा सुदूरपश्चिमाञ्चलकी अनिता भुल पहिलो भइन् । अनिताले १ मिनेट ०७.२५ सेकेन्डमा दौड सकाइन् । पश्चिमाञ्चलकी कल्पना श्रेष्ठ दोश्रो र मध्यमाञ्चलकी काजल विष्ट तेश्रो बने ।

छात्रा त्रिपल जम्मा मध्यमाञ्चलका भुवन महतो १३.२३ मिटर जम्प लगाउदै शीर्ष स्थानमा रहे । मध्यपश्चिमाञ्चलका सुशिल केसी दोश्रो तथा सुदूरपश्चिमाञ्चलका निरकुमार रानाले तेश्रो स्थान हात पारे । त्यसै स्पर्धाको छात्रामा पश्चिमाञ्चलकी विपना परियारले स्वर्ण जितिन् । विपनाले १०.५६ मिटर जम्प गरिन् । सुदूरपश्चिमाञ्चलकी देविका पालले रजत तथा मध्यपश्चिमाञ्चलकी पूजा चौधरीले कांस्य जिते ।

छात्र ज्याभ्लिन थ्रोमा मध्यमाञ्चलका वीरेन्द्र चौधरी पहिलो भए । उनले ४५.६५ मिटर थ्रो गरे । सुदूरपश्चिमाञ्चलका रमेश पोखरेल दोश्रो तथा मध्यमाञ्चलका सन्तराम माझी तेश्रो भए । सो स्पर्धाको छात्रामा सुदूरपश्चिमाञ्चलकी खगेश्वरी ठगुन्ना २५.१९ मिटर थ्रो गर्दै अब्बल बनिन् । पश्चिमाञ्चलकी सुनीता थापा दोश्रो र मध्यमाञ्चलकी एलिना खड्का तेश्रो भए ।

छात्रा २ सय मिटर दौडमा मध्यपश्चिमाञ्चलकी जयरानी थारु पहिलो भइन् । सबै प्रतिद्वन्द्वीलाई उछिन्ने क्रममा जयरानीले २७.४४ सेकेन्ड समय निलिन् । १ सय मिटर दौडमा पहिलो भएकी मध्यमाञ्चलकी लुजःला अमात्यले दोश्रो स्थानमा चित्त बुझाइन् भने पूर्वाञ्चलकी नेहा चौधरी तेश्रोमा सीमित भइन् ।

४ गुणा ४ सय मिटर रिलेको छात्रमा मध्यपश्चिमाञ्चल, मध्यमाञ्चल र सुदूरपश्चिमाञ्चल क्रमशः शीर्ष तीन स्थानमा रहे । उक्त स्पर्धाको छात्रामा मध्यपश्चिमाञ्चलले स्वर्ण, पश्चिमाञ्चलले रजत र मध्यमाञ्चलले कांस्य जिते ।
एथलेटिक्सको समग्रमा मध्यपश्चिमाञ्चल सर्वाधिक १ सय ७३ अंक जोड्दै टिम च्याम्पियन बन्यो । १ सय ६७ अंकमा मध्यमाञ्चल दोश्रो र १ सय ३८ अंकमा पश्चिमाञ्चल तेश्रो भए ।

तीनदिने एथलेटिक्समा जम्मा ४ छात्र खेलाडीले ५ विद्यालयस्तरको राष्ट्रिय कीर्तिमान रचे । त्यसमा मध्यमाञ्चलका अजितकुमार यादवले दोहोरा कीर्तिमान आत्मासात् गरे । उनले १ हजार ५ सय र ३ हजार मिटर दौडमा कीर्तिमान बनाए । पश्चिमाञ्चलका निशान गुरुङले सटपुट, मध्यमाञ्चलका भुवन महतोले लङजम्प र पूर्वाञ्चलका प्रकाश दनुवारले ४ सय मिटर दौडमा कीर्तिमान बनाउन सफल भए । एक कीर्तिमानका लागि १० हजार रुपैयाँ प्रदान गरियो ।

भलिबल: पश्चिमाञ्चल र मध्यमाञ्चल च्याम्पियन

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको भलिबलतर्फ छात्रमा पश्चिमाञ्चल र छात्रामा मध्यमाञ्चल च्याम्पियन बनेका छन् ।
राउन्ड रोविन लिगका आधारमा भएको प्रतिस्पर्धामा पश्चिमाञ्चलले अपराजित रहँदै १२ अंक जोड्यो । ८ अंकसाथ मध्यमाञ्चल दोश्रो तथा ५ अंकसाथ मध्यपश्चिमाञ्चल तेश्रो बने ।

छात्रामा च्याम्पियन बनेको मध्यमाञ्चलले पनि १२ अंक बटुल्यो । मध्यमाञ्चलले पनि कुनै खेल गुमाएन । ९ अंक जोडेको पूर्वाञ्चल दोश्रो भयो । ५ अंकसाथ मध्यपश्चिमाञ्चलले तेश्रो स्थान चित्त बुझायो ।

अन्तिम दिन छात्र र छात्रातर्फ समान २–२ खेल भयो । छात्रमा पश्चिमाञ्चलले पूर्वाञ्चललाई २५–२१ र २५–२३ तथा मध्यपश्चिमाञ्चलले सुदूरपश्चिमाञ्चललाई २५–१५, २१–२५ र २५–१६ ले पराजित गरे । छात्रामा पश्चिमाञ्चलले पूर्वाञ्चललाई २५–१० र २५–१८ तथा मध्यपश्चिमाञ्चलले सुदूरपश्चिमाञ्चललाई २५–१९ र २५–१६ को सोझो सेटमा हराए ।

फुटबल: मध्यपश्चिमाञ्चल र मध्यमाञ्चललाई उपाधि

फुटबलको छात्रमा मध्यपश्चिमाञ्चल र छात्रामा मध्यमाञ्चलले उपाधि जिते । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको छात्र फाइनलमा मध्यपश्चिमाञ्चलले मध्यमाञ्चललाई २–० गोलअन्तरले पराजित ग¥यो । विजयी टिमका लागि दिपेनसिंह ठकुरी र हेमराज राउतले १–१ गोल गरे ।

छात्राको उपाधि भिडन्तमा मध्यमाञ्चलले पश्चिमाञ्चललाई ४–१ गोलअन्तरले हरायो । विजेताका रश्मी घिसिङले २ गोल गरिन् भने सविता राना मगर र रजनी थोकरले १–१ गोल थपे । पश्चिमाञ्चलकी उदया थापाले सान्त्वना गोल फर्काइन् ।

कबड्डी : पश्चिम र सुदूरको शत प्रतिशत जित

कीर्तिपुरमा भएको कबड्डीको राउन्ड रोविन लिगमा पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चलले शत प्रतिशत जित निकालेका छन् । शत प्रतिशत नतिजासंगै पश्चिमाञ्चल छात्र र सुदूरपश्चिमाञ्चल छात्रामा च्याम्पियन बने । दुवैले समान १२–१२ अंक जोडे । छात्र र छात्रा दुवैमा मध्यमाञ्चल समान ९–९ अंकसाथ दोश्रो स्थानमा रहे ।

अन्तिम दिन छात्रमा पश्चिमाञ्चलले पूर्वाञ्चललाई ६०–४९ ले पराजित ग¥यो भने मध्यमाञ्चलले सुदूरपश्चिमाञ्चललाई ४२–२८ ले हरायो ।
छात्रामा पूर्वाञ्चल र मध्यपश्चिमाञ्चलले ३६–३६ को बराबरी खेले । अर्को खेलमा सुदूरपश्चिमाञ्चलले मध्यमाञ्चललाई ५९–२८ ले पाखा लगायो ।

क्रिकेट: पश्चिमाञ्चललाई उपाधि

कीर्तिपुर क्रिकेट मैदानमा भएको छात्र क्रिकेटमा पश्चिमाञ्चल पहिलो भयो । फाइनलमा पश्चिमाञ्चलले पूर्वाञ्चललाई ८ विकेटले पराजित गर्यो । ।
पहिले व्यटिङ गरेको पूर्वाञ्चलले निर्धारित २० ओभरमा पूरै ओभर खेलेर अलआउट हुँदै ८४ रनको योगफल खडा गरेको थियो । राजन मगरले सर्वाधिक २२ रन जोडे ।

जवाफमा पश्चिमाञ्चलले १२ ओभर ३ बलमा २ विकेट क्षतिमा विजयी लक्ष्य भेटायो । जितमा विशाल कार्कीले ३३ र सुशान्त थापाले १९ रन योगदान गरे । लिग कम नकआउट आधारमा भएको क्रिकेटमा छात्र टोलीले मात्र प्रतिस्पर्धा गरेको थियो । कराते, उसु र तेक्वान्दो सम्पन्न भइसकेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...