म्याग्दीलाई उपाधि, राजु उत्कृष्ट धनुषधर

काठमाडौं (खेलदैनिक) । म्याग्दी मगर समाजले सातौ रनिङ शिल्ड धनुषवाण प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । शुक्रवार बेलुका कृतिम प्रकाशमा खेलाईएको १० डोरको खेलमा ११७ अंक जोड्दै म्याग्दी मगर समाजले उपाधि चुमेको हो ।

कुल १२० अंकका लागि खेलाईएको १० डोरको खेलमा म्याग्दी मगर समाजले ३ अंक गुमाएको थियो । सात सदस्य टिम स्पर्धामा ६ जना खेलाडीले खेल्न पाउने नियम रहेको छ । प्रत्येक खेलाडीले एक डोरमा २ तीर निशानामा लागाउन पर्नेमा म्याग्दी मगर समाजका जुलुक पुन,कमल पुर्जा,प्रवेश फगामी र हरि पुनले सतप्रतिसत नतिजा निकाल्दै १० डोरमा २० तीरलाई अचुक निशाना लगाएर समान २०÷२० अंक जोडेका थिए ।

देब रोकाको एउटा प्रहार चुके पछि १९ अंकको योगदान दिदा तलबहादुर गर्बुजाले दुई निशाना खेर फाल्दै १८ अंक जोडेका थिए । दोश्रो स्थानमा रहेको नेपाल छन्त्याल संघले १० निशाना चुके पछि ११० अंकमा चित्त बुझाएको थियो । त्यस्तै नेपाल जापान सम्पर्क समितिले तेश्रो स्थान कब्जा गदै १०५ अंक जोड्न सफल भयो ।

थासाङ स्पोर्टस् क्लबको आयोजनामा संचालन भएको प्रतियोगितामा नेपाल छ्रन्त्याल संघका राजु छन्त्यालले दोहोरो उपाधि जितेका छन् । उनले ब्यक्तिगत स्पर्धाको खेलमा कुल १० अंक जोड्दै सर्वोकृष्ट धनुषधरको उपाधि जित्दै ३३ हजार ९ सय नगद प्राप्त गरे । टिम स्पर्धामा २० अंक जोड्ने ७ खेलाडीलाई पछि पादै बिशिष्ट धनुषधरको उपाधि पनि जित्न सफल भए ।

बिजेता टिम तथा खेलाडीलाई कार्यक्रमकी प्रमुख अतिथि थकाली सेवा समितिकी केन्द्रिय अध्यक्ष कृष्णकुमारी शेरचन, आयोजक थासाङ स्पोर्टस् क्लबका अध्यक्ष कृष्ण शेरचनलगायतले पुरस्कृत गरेका थिए । सो अवसरमा प्रायोजक प्रभु लाईभ इन्स्युरेन्सका खगेन्द्र भट्चन, साग्रीला बिकाश बैंककी ज्योती गौचनलाई सम्मान गरिएको थियो । ५ दिने प्रतियोगिताको उद्घाटनका अवसरमा समूदायका खेलाडीद्धय शक्ति गौचन र शोभा गौचनलाई सम्मान गरेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...