राष्ट्रिय हक्कीमा विभागीय टोलीको जित

विराटनगर (खेलदैनिक) । दोस्रो गिरिजाप्रसाद कोइराला स्मृति पुरुष राष्ट्रिय हक्की प्रतियोगिताअन्तर्गत मंगलबार भएको खेलमा प्रदेश ५, बाग्मती र नेपाल आर्मी विजयी भएका छन् ।

नेपाल हक्की संघले विराटनगरस्थित सहिद रंगशालामा आयोजना गरेको प्रतियोगिताअन्तर्गत मंगलबारको पहिलो खेलमा प्रदेश ५ ले प्रदेश २ लाई ६–० को फराकिलो गोलअन्तरमा पराजित गरेको छ । प्रदेश ५ का लागि म्यान अफ द म्याच अमन कुमारले ८ र ५४ औं मिनेटमा गोल गरे भने २० र ४८ औं मिनेटमा राजन कुमार गोल थपे । त्यस्तै ३४ र ३९ औं मिनेटमा मनिष गुरुङले गोल गर्दै टिमलाई विजयी दिलाए ।

त्यसैगरी, दोस्रो खेलमा बाग्मती प्रदेशले प्रदेश १ लाई २–० गोल अन्तरमा पराजित गरेको छ । बाग्मतीका समिर घिमिरेल ५३ औं मिनेटमा गोल गरे भने म्यान अप द म्याच सुरज घर्ती मगरले ५८ औं मिनेटमा गोल गर्दै जित सुनिश्चित गरे ।

त्यस्तै तेस्रो खेलमा नेपाल आर्मीले सुदूरपश्चिमलाई ४–० गोलले पराजित गरेको छ । आर्मीका दीपेन्द्र ऐरले ३७ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । ४२ र ४६ औं मिनेटमा रोमन रानाले गोल गरेभने ५८ औं मिनेटमा नरेन्द्र कार्कीले गर्दै टिमलाई विजयी दिलाए । खेलको म्यान अफ द म्याच रोमन राना भए ।

प्रतियोगितामा एक विभागीयसहित ६ प्रदेशको सहभागिता रहेको छ । विभागीय टोली नेपाल आर्मी, सुदूरपश्चिम प्रदेश, बाग्मती प्रदेश, प्रदेश १, गण्डकी प्रदेश, प्रदेश ५ र प्रदेश २ ले प्रतियोगितामा भाग लिएका छन् ।

प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ, उपविजेताले नगद २५ हजार रुपैयाँ र तेस्रोले नगद १५ हजार रुपैयाँका साथै ट्रफी जित्ने छन् । त्यस्तै व्यक्तिगत पुरस्कारतर्फ उदयीमान खेलाडी, सर्वाधिकगोलकर्ता, उत्कृष्ट गोलरक्षक, सर्वोत्कृष्ट खेलाडीले जनही नगद ५ हजार पाउने छन् ।

प्रतियोगिताअन्तर्गत बुधबारको पहिलो खेल बाग्मती प्रदेश र नेपाल आर्मी, दोस्रो खेल गण्डकी प्रदेश र प्रदेश २ तथा तेस्रो खेल सुदूरपश्चिम प्रदेश र प्रदेश १ बीच प्रतिस्पर्धा हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...