
काठमाडौं (खेलदैनिक) । रमन रानाको ह्याट्रिक मद्दतमा नेपाल पुलिस अपराजित रहंदै आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष हक्कीको सेमिफाईनलमा प्रवेश गरेको छ ।
सोमवार मंगल माबिमा भएको अन्तिम लिग खेलमा रमनको चार गोलको मद्दतले पुलिसले प्रदेश २ माथि ६–० को फराकिलो जित निकालेको छ । खेलको २१औं मिनेटमा टिमलाई अग्रता दिलाएका रमनले ३६औं र ४५औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए ।
ह्याट्रिक गरेलगत्तै ४७औं मिनेटमा चौथो गोल गरेपछि उनले टिमलाई मजबूत अवस्थामा पु¥याएका हुन् । यसैगरी टिमका लागि खेलको ३८औं मिनेटमा योगेश कुमार बालझारे र ५३औं मिनेटमा केशवराज जोशीले समान एक–एक गोल थपेका थिए ।
समूह ए मा चार अंक रहेको प्रदेश २ का लागि उपबिजेताको रुपमा सेमिफाईनल प्रवेश गर्न पुलिसलाई कम्तिमा पनि ५ गोल अन्तरले हराउनु पर्ने समिकरण बनेको थियो । सेमिफाइनल प्रवेशका लागि उक्त खेलको नतिजामा भर परेको आर्मी भने प्रदेश २ को हारसंगै उपविजेताको रुपमा सेमिफाइनल पुगेको छ ।
समूह ए को विजेता पुलिसले समूह बी को उपविजेता सुदूरपश्चिम प्रदेशसंग तथा समूह बी को विजेता प्रदेश ५ ले आर्मीसंग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ ।
सेमिफाइनल खेल :
पुलिस र सुदूर पश्चिमाञ्चल प्रदेशबीच बिहान ७ बजे ।
प्रदेश ५ र आर्मीबीच अपरान्ह ४ बजे ।
साइक्लिङ : ओकश र लक्ष्मी पहिलो

आठौंअन्तर्गत राष्ट्रिय साइक्लिङको पुरुषमा आर्मीका ओकेशराज वज्राचार्य तथा महिलामा प्रदेश ३ की लक्ष्मी मगरले स्वर्ण जितेका छन् ।
गाभरमा भएको प्रतियोगितामा ४.६ किलोमिटरको ५ ल्याप ओकेशले १ घण्टा २५ मिनेट ०९ सेकेन्डमा पूरा गरे । आर्मीका हिमाल टमाटा (१ घण्टा २६ मिनेट ०६ सेकेन्ड) दोश्रो तथा गण्डकीका हिक्मत विक (१ घण्टा २६ मिनेट ४४ सेकेन्ड) तेश्रो भए ।
४.६ किलोमिटरको ४ ल्याप लक्ष्मीले १ घण्टा २० मिनेट ५२ सेकेन्डमा पार गरिन् । गण्डकीकी उषा खनाल (१ घण्टा ३३ मिनेट ३८ सेकेन्ड) दोश्रो तथा प्रदेश ३ की निर्जला ताम्राकार (१ घण्टा ३५ मिनेट ५६ सेकेन्ड) तेश्रो स्थानमा रहे । एकदिने क्रस कन्ट्री साइक्लिङमा ६ प्रदेशबाट ३० पुरुष र १२ महिला खेलाडी सहभागी थिए ।
बास्केटबल : सेमिफाइनल समीकरण पूरा
आठौंअन्तर्गत १५ औं राष्ट्रिय महिला बास्केटबलको सेमिफाइनल समीकरण सोमबार पूरा भएको छ । सेमिफाइनल प्रदेश ३ र आर्मी तथा सुदूरपश्चिम प्रदेश र प्रहरीबीच हुने भएको छ ।
लिगको अन्तिम दिन प्रदेश ३ ले प्रदेश ५ लाई ४७–१२, आर्मीले प्रदेश ४ लाई ५९–३१, सुदूरले प्रदेश १ लाई ३३–२९ र प्रहरीले एपीएफलाई ५७–३५ ले हराए । प्रदेश ३ की सदिना श्रेष्ठले १३, आर्मीकी सुमन्ता खड्काले १५, प्रदेश ७ की अनिता भण्डारीले १७ र प्रहरीकी एलिशा मल्लले १५ स्कोर गरे ।