राष्ट्रिय खेलकुद : पुलिसको जितमा रोमनको पाँच गोल, आर्मी पनि सफल

आठौंअन्तर्गत पुरुष हक्कीमा प्रतिस्पर्धा गर्दै आर्मी (हरियो) र प्रदेश २ का खेलाडी ।

काठमाडौं (खेलदैनिक) । आठौं राष्ट्रिय खेलकुदअन्तर्गत १८ औं राष्ट्रिय हक्कीको पुरुषमा नेपाल प्रहरी विजयी भएको छ ।

पहिलोपटक हक्कीमा सहभागिता जनाएको प्रहरीले गण्डकी प्रदेशलाई ५–० गोलले पराजित गर्याे । सम्भव पाँचै गोल रोमन राणाको नाममा रह्यो । रोमन प्रहरीमा आबद्ध हुनुअघि गण्डकीबाटै खेल्थे । गत माघमा झापाको भद्रपुरमा भएको प्रथम गिरीजाप्रसाद कोइराला स्मृति राष्ट्रिय खुला हक्कीमा नेपाल आर्मीलाई हराउदै उपाधि जित्दा रोमन गण्डकी टिमका मुख्य सदस्य थिए ।

अन्य खेलमा डिफेन्डिङ च्याम्पियन आर्मी र प्रदेश ७ ले सफलता पाए । आर्मीले प्रदेश २ लाई १–० गोलले हराउदै लगातार दोश्रो जित हात पार्यो । राम शाहले निर्णायक गोल गरे । प्रदेश ७ ले कर्णाली प्रदेशलाई ३–० गोलले निराश पार्यो । जितमा राम परियार, भीमदत्त भट्ट र कान्तुराम पनेरुले १–१ गोल योगदान गरे ।

स्क्वास : भावना र कृष्णाको दोहोरो जित

आठौंअन्तर्गत राष्ट्रिय स्क्वासमा प्रतिस्पर्धा गर्दै अमृत थापा मगर ।

आठौंअन्तर्गत ११ औं राष्ट्रिय स्क्वासको महिला सिंगल्सको राउन्ड रोविन लिगमा प्रदेश ३ की भावना सुनुवार र गण्डकीकी कृष्णा थापाले बिहीबार दोहोरो जित हात पारेका छन् ।

भावनाले गण्डकीकी सालिनी घिमिरेलाई ११–२, ११–० र ११–१ तथा प्रदेश ३ की स्वास्थानी श्रेष्ठलाई ११–५, ११–४ र ११–७ को सोझो सेटमा पराजित गरिन् । कृष्णाले आफ्नै प्रदेशकी सालिनीलाई ११–२, ११–० र ११–१ तथा प्रदेश ३ की मन्जिला मगरलाई ११–३, ११–२ र ११–३ को सीधा सेटमा हराइन् । प्रदेश ३ की विपना ब्लोनले आफ्नै प्रदेशकी मन्जिलालाई ११–१, ११–४ र ११–४ को सोझो सेटमा पन्छाइन् ।

पुरुष सिंगल्समा सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलमा प्रदेश ३ का राजेन्द्र शाक्यले त्यसै प्रदेशका प्रवीणवीर सिंह कंशाकार तथा प्रदेश २ का दीपक थापाले गण्डकीका अमृत थापा मगर विरुद्ध प्रतिस्पर्धा गर्ने छन् ।

क्वाटरफाइनलमा राजेन्द्रले प्रदेश ३ का अमिर ब्लोनलाई ३–११, ११–२, ११–३ र ११–६, दीपकले प्रदेश १ का निशान्त अग्रवाललाई ११–६, ११–५, ५–११ र ११–६, अमृतले एपीएफका उमिद शाक्यलाई ११–५, ११–२ र ११–८ तथा प्रवीणले एपीएफका विक्रम मगरलाई ११–९, ११–२ र ११–२ को सेटमा पाखा लगाए ।

टेबलटेनिस : प्रहरीलाई दुई स्वर्ण

आठौंअन्तर्गत राष्ट्रिय टेबलटेनिसको महिला डबल्स विजेता नविता श्रेष्ठ (बायाँ) र एलिना महर्जन ।

आठौंअन्तर्गत ४० औं राष्ट्रिय टेबलटेनिसको दोश्रो दिन प्रहरीले दुई स्वर्ण जितेको छ । प्रहरीले महिला टिम इभेन्ट र डबल्समा स्वर्ण हात पार्यो ।

टिम इभेन्टमा प्रहरीले अर्को विभागीय टोली एपीएफलाई ३–१ को सेटमा पराजित ग¥यो । प्रहरीकी एलिना महर्जनले एपीएफकी सेलिशा खड्गीलाई ३–१ ले परारिजत गरिन् ।

दुई खेलमा जित हात पारेकी ७ पटककी राष्ट्रिय च्याम्पियन नविताले एफीएफका अनिता महर्जनलाई ३–० तथा सेलिशा खड्गीलाई ३–१ ले हराइन् । एक सिंगल्समा भने एपीएफकी सिक्का सुवालले प्रहरीकी मन्जु सुवालमाथि ३–१ को जित दर्ता गरिन् । आर्मी र प्रदेश ३ संयुक्त रुपमा तेश्रो भए ।

दाङको घोराही कभर्डहलमा भइरहेको प्रतियोगिताको महिला डबल्सको फाइनलमा प्रहरीका भाउजु नविता र नन्द एलिनाको जोडीले आर्मीका स्वेच्छा नेम्वाङ र रविना महर्जनको जोडीलाई ११–८, ११–७ र ११–८ को सोझो सेटमा पाखा लगाए । प्रदेश ५ का गीता अर्याल र अमृता थापा तथा एफीएफका सेलिशा खड्गी र सिक्का सुवालको जोडी तेश्रो बने ।

बास्केटबल : विभागीय टिमको जित

आठौंअन्तर्गत बास्केटबलमा प्रतिस्पर्धा गर्दै प्रहरी (नीलो) र कर्णाली प्रदेशका खेलाडी ।

आठौं राष्ट्रिय खेलकुद अन्तर्गत १६ औं राष्ट्रिय पुरुष बास्केटबलमा तीनै विभागीय टिम (प्रहरी, एपीएफ, आर्मी) ले बिहीबार विजयी सुरुआत गरेका छन् ।

प्रहरीले कर्णाली प्रदेशलाई ९३–२९, एपीएफले प्रदेश ५ लाई ७४–४० र आर्मीले गण्डकी प्रदेशलाई ७८–३६ ले पराजित गरे । घोराहीको सालघारीमा भइरहेको प्रतियोगिताको अर्को खेलमा सुदूर प्रदेशले प्रदेश २ लाई ६५–२१ ले हरायो ।

प्रतियोगिताको युवा तथा खेलकुद मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले एक कार्यक्रमबीच उद्घाटन गरे । सचिव देवकोटाले खेल क्षेत्रको विकासले युवाहरुलाई हौसला सँगै देशको पहिचान बढाउने काम गरेको बताए । देशको गौरवका रुपमा रहेको खेल क्षेत्रको विकासका लागि राज्यले खेल क्षेत्रमा लगानी बढाउदै गएको बताए ।

खेलकुद क्षेत्रमा युवाहरुको आकर्षण बढेपनि पर्याप्त पूर्वाधार नहुदाँ खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गर्न नसक्ने अवस्था रहेको भन्दै खेलकुदका पूर्वाधार निर्माणमा सरकारको ध्यान केन्द्रित भएको बताए । उनले आठौँ राष्ट्रिय बास्केटबललाई देशको गौरवका रुपमा लिदै खेलाडीहरुलाई अनुशासित रुपमा खेल प्रदर्शन गर्न आग्रह गरे ।

पुरुषतर्फ १० टिमलाई २ समूहमा राखेर लिग कम नकआउट आधारमा खेल खेलाइएको छ । १५ औं महिला राष्ट्रिय बास्केटबल भने चैत ३० गतेदेखि मात्र सुरु हुनेछ । महिलामा ८ टिम सहभागी छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...