नेपालले एसिया रग्बी सेभेन्स ट्रफी खेल्ने

काठमाठौं (खेलदैनिक) । गत हप्ता मात्रै एसियाको पूर्ण सदस्यता पाएको नेपालले सिंगापुरमा आयोजना हुने एसिया रग्बी सेभेन्स ट्रफी खेल्ने भएको छ । आगामी ३ र ४ अगस्टमा हुने ट्रफीमा प्रतिस्पर्धा गर्ने नेपाली टोलीलाई बुधबार एक कार्यक्रमका बीच बिदाई गरिएको छ ।

१२ खेलाडीसहित कुल १५ सदस्यीय टोलीलाई नेपाल रग्बी संघका अध्यक्ष टंकलाल घिसिङ, महासचिव चेतनराज गिरी र सचिव गोविन्दबहादुर घिमिरे लगायतले बिदाई गरे । संघका अध्यक्ष घिसिङले नेपाली राष्ट्रिय टोलीका कप्तान कृष्ण क्षेत्रीलाई झन्डा र जर्सी हस्तान्तरण गर्दै बिदाई गरे । उनीहरु बिहीबार सिंगापुर प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

कृष्णको कप्तानीमा रहेको नेपालले आफ्नो समूह ‘बी’ मा युएई, जोर्डन र इन्डोनेसियासँग चुनौती प्रस्तुत गर्नेछ । लिगकम नकआउटका आधारमा हुने प्रतियोगितामा समूह ‘ए’ मा थाईल्यान्ड, इरान, काजाखस्तान र उज्बेकिस्तान तथा समूह ‘सी’ मा सिंगापुर, पाकिस्तान, बंगलादेश, ब्रुनाई र लाओस छन् ।

गैरवरीयतामा रहेको नेपाली टोली यसपटक शीर्ष ४ भित्र पुग्ने लक्ष्य रहेको श्रींलकाली मुख्य प्रशिक्षक राधिका हेटियाच्चीले बताए ।

टोलीको उपकप्तानमा विराट श्रेष्ठ, कृष्णप्रसाद धमला, श्रीराम श्रेष्ठ, विराट ऐडी, हुतराज प्रधान, प्रेमबहादुर कोइराला, बिक्रम पुरी, जनक वाइवा, झुकेन राई, सन्जय अधिकारी र सिकिन्दर अधिकारी रहेका छन् ।

नेपाली टिमको प्रशिक्षकमा श्रीलंकाली राष्ट्रिय टिमका पूर्वकप्तानसमेत रहेका राधिका, टिम व्यवस्थापकमा इन्द्रबहादुर तामाङ र फिजियोमा लक्ष्मण अधिकारी रहेका छन् । नेपालले आफ्नो पहिलो खेल युएइसँग खेल्नेछ । प्रत्येक समूहका शीर्ष २ टोली र अंकका आधारमा थप २ टिमले क्वार्टरफाइनलमा खेल्नेछ ।

क्वार्टरमा विजेता ४ राष्ट्रले ट्रफी खेल्दा पराजित ४ राष्ट्रले प्लेट च्याम्पियनसिप खेल्नेछ ।संघका अध्यक्ष घिसिङले नेपालमा रग्वी टिम छ । खेल्न जान्छ र आउछ भन्ने मात्रै होइन यसपटक उपलब्धीपूर्ण बनाउन शुभकामना दिए ।


प्रतिक्रिया दिनुहोस

Loading...