दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठक

दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठक ।

काठमाडौं (खेलदैनिक) । नेपालले आयोजनाको जिम्मेवारी पाएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा केन्द्रीत रहि दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठक काठमाडौंमा शनिबार बसेको छ ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) एवं काउन्सिलका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षता बैठक बसेको हो । बैठकमा भुटान बाहेक नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, माल्दिभ्स र श्रीलंका गरी ६ राष्ट्र सहभागी थिए ।

मुल विषयमा प्रवेश गर्नुअघि बैठकलाई अध्यक्ष श्रेष्ठले सम्बोधन गर्दै एनओसी र राष्ट्रिय खेल संघहरुको ध्यान १३ औं सागमा पूर्ण रुपमा केन्द्रीत रहेको जानकारी गराउदै नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्ले पनि साग आयोजनाका सम्बन्धमा गम्भीर भएर चासो दिएको बताए । उनले सरकारले सागका लागि बजेट समेत विनियोजन गरेको बताउदै विगतको तुलनामा खेलकुदको बजेट झन्दै दोब्बरले बृद्धि भएको बताए ।

दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकमा सहभागीहरु ।

अध्यक्ष श्रेष्ठले सरोकारवाला सबैको सहयोग भए १३ औं सागको समय तालिकामा कुनै फेरबदल नगरी निर्धारित समयमै साग आयोजना गर्न लागि परेको बताए । उनले १३ औं साग आयोजनाको जिम्मेवारी दिएकोमा दक्षिण एसियाली राष्ट्रका ओलम्पिक कमिटीलाई धन्यवाद दिदै १३ औं सागलाई सफल र यादगार बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।

दशरथ रंगशालाको निरीक्षण

दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकपछि त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको निरीक्षण गर्दै विभिन्न राष्ट्रका प्रतिनिधि ।

त्यसैगरी दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकमा सहभागी हुन काठमाडौं आएका विभिन्न राष्ट्रका प्रतिनिधिहरुले शनिबारै त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातामा रहेको दशरथ रंगशालासहित विभिन्न खेल पूर्वाधारको निरीक्षण समेत गरेका छन् ।

नेपाल ओलम्पिक कमिटी एवं काउन्सिलका अध्यक्ष जीवनराम श्रेष्ठसहितको प्रतिनिधि टोलीलाई राखेपका सदस्य–सचिव केशवकुमार विष्टले स्वागत गरेका थिए । प्रतिनिधि टोलीले दशरथ रंगशालाको मर्मत कार्यको प्रगति बारे जानकारी लिनुका साथै कभर्डहल र टेनिस कोर्टको निरीक्षण पनि गरे ।

टोलीलाई सदस्य–सचिव विष्ट, पूर्वाधार निर्माण तथा मर्मत शाखाका प्रमुख इन्जिनियर अरुण उपाध्याय, इन्जिनिएरद्वय तिलोत्तमा बस्याल र विश्वमित्र सन्जेलले कार्य प्रगति बारे जानकारी गराएका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...