एशियाली खेलमा प्याराग्लाइडिङ समाबेश हुने भएपछि पोखरामा तयारी सुरु

पोखरा (खेलदैनिक) । इण्डोनेशियाको जर्कातामा आयोजना हुने १८ औं एशियाली खेलकुदमा प्याराग्लाइडिङ खेल समावेश हुने भएपछि पोखरेली प्याराग्लाइडिङ खेलाडी तथा यसमा संलग्नहरु उत्साहित भएका छन ।

एशियाली खेलमा पहिलो पटक समावेश हुन लागेको शाहसिक खेल प्याराग्लाइडिङ आमन्त्रित खेलका रुपमा रहने नेपाल प्याराग्लाइडिङ तथा ह्याङ ग्लाइडिङ संघका महासचिव शैलेन्द्र रावतले जानकारी दिए ।

एशियाली खेलमा नेपालबाट प्याराग्लाइडिङबाट दुई वटा इभेन्टमा १० जना खेलाडीको सहभागिता रहने रावतले बताए । प्याराग्लाइडिङको इन्डिभिजुअल एकुरेसी, टिम एकुरेसी र टिम क्रस कन्ट्री प्रतिष्पर्धाका लागि कुल १० जना खेलाडीले एशियाली खेलमा सहभागिता जनाउने छन ।

अन्तिम खेलाडी छनौटका लागि चैत १३ र १४ गते टिम एक्युरेसी इभेन्टमा प्रतिष्पर्धा गराइन लागिएको समेत उनले बताएका छन । उक्त प्रतिष्पर्धाको निरिक्षण गर्न युवा तथा खेलकुद मन्त्रि जगत विश्वकर्मा १४ गते पोखरा आउने कार्यक्रम रहेको महासचिव रावतले बताए । उनले टिम क्रस कन्ट्रीमा विश्वमा टप टेन भित्र नेपालमा नै ६ जना खेलाडी समेत रहेको बताए ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशब कुमार विष्टले एशियाली खेलमा प्याराग्लाइडिङ खेलमा नेपालले सहभागिता जनाउने बताए । प्याराग्लाइडिङ खेलका माध्यमबाट नेपाललाई विश्वमा परिचित गराउन पनि यो सहभागिता विशेष रहने बताउँदै उनले प्याराग्लाइडिङ बाट मेडल पाउनेमा आफु आशाबादी समेत रहेको बताए ।

एशियाली खेलमा ४५ देशले सहभागिता जनाउने भए पनि प्याराग्लाइडिङतर्फ ३० भन्दा वढी देशको सहभागिता रहने अपेक्षा गरिएको छ । हाल प्याराग्लाइडिङ खेल पोखरा, स्याङजा, धरान र सुर्खेत हुने गरेको छ । पोखरामा मात्रै ६० भन्दा वढी प्याराग्लाइडिङका व्यवसायिक कम्पनीहरु रहेका छन भने नेपालमा ५०० जना खेलाडीहरु आवद्ध रहेके संघका सचिव इन्द्र भण्डारीले बताए ।


प्रतिक्रिया दिनुहोस

Loading...