ओलम्पिक दिवसमा खेलाडीलाई ट्राफिक सचेतना

तेह्रौं सागकी स्वर्ण विजेता एवं ओलम्पियन फुपु ल्हामु खत्री त्रिपुरेश्वरमा ट्राफिक व्यवस्थापन गर्दै ।

काठमाडौं (खेलदैनिक) । नेपाल जुडो संघले ओलम्पिक दिवसका अवसरमा ट्राफिक सचेतना कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरे ।

सो अवसरमा जुडोका खेलाडीहरुलाई प्रहरी सहायक निरीक्षक कृष्णकुमार शर्माले ट्राफिक व्यवस्थापनका नियम बारे जानकारी गराएका थिए । विशेष गरी पैदल यात्रीहरुलाई जेब्रा क्रसबाट बाटो काट्ने तरिकाबारे जानकारी गराइएको थियो ।

त्यसपछि खेलाडीहरुलाई समूह बनाएर पुतलीसडक, बागबजार, थापाथली, माइतीघर, सिंहदरबार, एनएसी, त्रिपुरेश्वर र न्युरोडमा ट्राफिक व्यवस्थानका लागि ६४ खेलाडीसहित पदाधिकारीहरुलाई खटाइएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले ओलम्पिक मुभ्मेन्ट खेलकुदको प्रतियोगिता मात्र नभइ सिंगो समाजको विकाससंग जोडिएको पक्ष भएको बताए । उनले ओलम्पिक डेमा मोफसलमा पनि कार्यक्रम आयोजना गरिएको बताए ।

जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले खेलाडीलाई खेलमा मात्र नभइ सामाजिक कार्यमा पनि संलग्न गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । जुन २३ तारीखलाई विश्वभरि ओलम्पिक डे का रुपमा मनाउँदै आइएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...