सीडब्लुसीएन जुडो टोली भुटान जाने

भुटान मैत्रीपूर्ण जुडो प्रतियोगितामा सहभागी हुन ६ खेलाडीसहित १० सदस्यीय बाल वातावरण केन्द्र, नेपाल (सीडब्लुसीएन) टोली सोमबार भुटानको थिम्पु प्रस्थान गर्दैछ ।

सीडब्लुसीएन जोखिम परिस्थितिका सडक बालवालिकाको संरक्षणमा कार्य गर्दै आइरहेको संस्था हो ।

जुन ७ देखि ९ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ५० केजीमा सचिन वाइबा, ५५ केजीमा सुरज नेपाली, ६६ केजीमा सन्जोग भट्ट र ६० केजीमा दिनेश मगरले प्रतिस्पर्धा गर्नेछन् । महिलाको ४८ केजीमा मनीषा महर्जन पुटुवार तथा ५२ केजीमा कविता नेपालीले खेल्नेछन् ।

नेपाल जुडो संघका महासचिव समेत रहेका सीडब्लुसीएनका अध्यक्ष धर्मकुमार श्रेष्ठको नेतृत्वमा जाने टोलीको प्रशिक्षकमा रमेश मगर तथा अफिसियलमा सीडब्लुसीएनकी सचिव रञ्जना शर्मा र राजकुमार विशंके छन् ।

टोलीलाई जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य र सीडब्लुसीएनकी उपाध्यक्ष रञ्जना उप्रेती ढकालले आइतबार एक कार्यक्रमबीच बिदाइ गरे ।

सो अवसरमा अध्यक्ष वज्राचार्यले असाहय बालवालिकाको संरक्षणमा कार्य गर्दै आइरहेका विभिन्न संस्थाले जुडोको विकास र विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकोमा धन्यवाद दिदै उक्त संस्थाका खेलाडीले राष्ट्रलाई पदक दिलाइ जुडोका साथै देशको गौरव पनि बढाइरहेको धारणा व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...